जीवन बीमा बजार: व्यवसायमा ‘सावधिक बीमा’को हिस्सा ३७.२५ प्रतिशत, सुगम क्षेत्रमै केन्द्रित छन् कम्पनीहरु « Arthapath.com
२७ कार्तिक २०८१, मंगलवार

जीवन बीमा बजार: व्यवसायमा ‘सावधिक बीमा’को हिस्सा ३७.२५ प्रतिशत, सुगम क्षेत्रमै केन्द्रित छन् कम्पनीहरु



काठमाडौं । जीवन बीमा व्यवसायमा सावधिक बीमा योजनाको सर्वाधिक हिस्सा छ । कुल व्यवसायमा झन्डै ३७ प्रतिशत बढी योगदान सावधिक जीवन बीमा योजना देखिएको छ ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तीन महिनामा जीवन बीमा कम्पनीहरुले कुल ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । सो अवधिमा कम्पनीहरुले कुल १ करोड ३७ लाख ६६ हजार ४४८ वटा बीमालेख बिक्री गरेका छन् ।

कुल व्यवसायमा ३७.२५ प्रतिशत योगदान सावधिक जीवन बीमाको छ । तीन महिनामा सो बीमा योजना मार्फत कुल १५ अर्ब ३८ करोड ३७ लाख ९९ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । कम्पनीहरुले २० लाख ५१ हजार ५४३ वटा बीमालेख बिक्री भएका छन् ।

यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाको योगदान २२.२६ प्रतिशत छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीहरुले सो बीमा योजना मार्फत ९ अर्ब १९ करोड ७१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

यता, बालबच्चा सम्वन्धि सावधिक बीमा योजनाको योगदान १५.४३ प्रतिशत र रुपान्तरित सावधिक योजना १३.१५ प्रतिशत छ । समिक्षा अवधिमा कम्पनीहरु यी दुई बीमा योजना अन्तर्गत क्रमशः १० लाख ४ हजार ४३७ र ५ लाख ३८ हजार ३४३ वटा बीमालेख बिक्री गरि क्रमशः ६ अर्ब ३७ करोड ४२ लाख र ५ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

एकल बीमा बीमा शुल्क योजनाको योगदान ३.२ प्रतिशत, आजिवन जीवन बीमाको २.७ प्रतिशत, अन्य जीवन बीमाको १.९५, वैदेशिक रोजगार म्यादिको १.७४, लघु जीवन बीमाको १.४५ र म्यादि जीवन बीमाको ०.८७ प्रतिशत रहेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

बागमती प्रदेशमा झन्डै आधा व्यवसाय, अन्य कुन प्रदेशमा कति व्यापार ?

जीवन बीमा कम्पनीहरुको व्यापार बागमती प्रदेशमै सिमित देखिन्छ । झन्डै आधा हिस्सा बागमतीको छ । सो प्रदेशममा कम्पनीहरुले ४३.११ प्रतिशत व्यवसाय गरेका छन् । तीन महिनाको अवधिमा कम्पनीहरुले १७ अर्ब ८० करोड ३९ लाख रुपैयाँ बराबरको व्यापार बागमती प्रदेशबाट गरेका छन् । सो प्रदेशमा कम्पनीहरुले कुल ९७ लाख ६२ हजार ३८६ वटा बीमालेख बिक्री गरेका हुन् ।

कम्पनीहरु व्यवसायमा सुगम क्षेत्रमा नै केन्द्रित देखिन्छन् । ग्रामिण स्तरमा पुगेर व्यवसाय संचालन गर्ने भनिएता पनि अझै पनि कम्पनीहरु सहरी क्षेत्रमै आकर्षित छन् । पछिल्लो समय कम्पनीहरुले सातै वटा प्रदेशका विभिन्न जिल्ला तथा स्थानहरुमा शाखा विस्तार गरिरेहका छन् । ग्रामिण स्तरका नागरिकलाई पनि समेट्ने भन्दै लघुबीमा कम्पनीहरु पनि स्थापित छन् । तर, पनि व्यवसाय ग्रामिणमुखी नभई सहरी केन्द्रित नै देखिन्छ । कम्पनीहरुले ग्रामिण क्षेत्रबाट अपेक्षित रुपमा व्यवसाय गर्न नसकेका हुन् ।

कुल व्यवासयमा लुम्बिनी प्रदेशको १५.४८ प्रतिशत, कोशी प्रदेशको १२.७३ प्रतिशत र गण्डकी प्रदेशको १०.४७ प्रतिशत योगदान छ । समिक्षा अवधिमा कम्पनीहरुले यी प्रदेशहरुबाट क्रमशः ६ अर्ब ३९ करोड ४९ लाख, ५ अर्ब २५ रकोड ७२ लाख, ४ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, मधेश प्रदेशको योगदान ९.१३ प्रतिशत, सुदुरपश्चिम प्रदेशको ६.०६ प्रतिशत र कर्णालीको भने ३.०२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्