बाढी पहिरो कहर: पौने १२ अर्बको बीमा दावी, कम्पनीले दिए ६१ करोड भुक्तानी, शिखर एक्लैले २६ करोड
काठमाडौं । बाढी, पहिरोले पुर्याएको क्षति उपर पौने १२ अर्ब बराबरको दावी परेको छ ।
गत असोज १० गतेदेखि १२ गतेसम्म आएको बाढी तथा पहिरो ठुलो मात्रामा क्षति पुर्याएको थियो । लगातारको वर्षाले ठुला ठुला जलविद्युत परियोजना, सवारी साधान, घर तथा पसल लगायतमा क्षति पुर्याएको थियो । सोही बाढी, पहिरोले क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा ११ अर्ब ८२ करोड ६ लाख ११ हजार रुपैयाँ बराबरको दावी पेश भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार यो गत कात्तिक २८ गते बुधवारसम्मको तथ्याङ्क हो । सो अवधिमा कुल ३ हजार ४१८ वटा दावी पेश भएको छ । तर, कम्पनीहरुले कुल पेश भएको दावीको ५.१६ प्रतिशत मात्रै भुक्तानी गरेका छन् । सो अवधिमा कम्पनीहरुले कुल ९०२ वटा दावीमा ६१ करोड ७ लाख ९३ हजार रुपैयाँ भुक्तानी दिएका हुन् । यसमा बीमकले गरेको अग्रिम दावी भुक्तानीको विवरण पनि समावेश गरिएको प्राधिकरणले जनाएको छ ।
हाल १४ वटा ठुला र चार वटा लघुनिर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् । ती मध्ये अझै पनि राष्ट्रिय बीमा र ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले भने एक रुपैयाँ पनि दावी भुक्तानी दिएका छैनन् । यी कम्पनीमा क्रमशः २० करोड ६७ लाख र १५ लाख २० हजार रुपैयाँ बराबरको दावी पेश भएको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै दावी भुक्तानी शिखर इन्स्योरेन्सले दिएको छ । कम्पनीले २६ करोड ६ लाख ११ हजार रुपैयाँ दावी भुक्तानी दिएको हो । कम्पनीहरुको कुल दावीमा शिखर एक्लैले ४२.६६ प्रतिशत भुक्तानी दिएको छ । कम्पनीमा बाढी पहिरोको क्षतिबाट ४५३ वटा अर्थात् १ अर्ब ५ करोड ६४ लाख ८९ हजार रुपैयाँ बराबरको दावी परेको थियो । यसमा कम्पनीले २४.६६ प्रतिशत मात्रै भुक्तानी गरेको छ ।
यस्तै, सिद्धार्थ प्रिमियरले पनि ९ करोड ३७ लाख ३९ हजार, नेकोले ६ करोड ९० ल ाख ५५ हजार, सगरमाथा लुम्बिनीले ५ करोड ८२ लाख ५७ हजार, हिमालयन एभरेष्टले ४ करोड ६१ लाख ९० हजार, आइजीआई प्रुडेन्सियलले ३ करोड ९ लाख ९५ हजार, नेपाल इन्स्योरेन्सले १ करोड ८ लाख रुपैयाँ बीमितलाई भुक्तानी दिएका छन् ।
प्राधिकरणका अनुसार प्रभूले ५३ लाख ३७ हजार, ओरियण्टलले ३५ लाख ८१ हजार, युनाईटेड अजोडले ३४ लाख २३ हजार, नेपाल इन्स्योरेन्सले २२ लाख ५३ हजार रुपैयाँ दावी भुक्तानी दिएका छन् ।

कम्पनीहरुले सम्पत्ति बीमालेख अन्तर्गत सबैभन्दा ठुलो भुक्तानी दिएका छन् । सो अवधिमा कम्पनीहरुले ४६ करोड ७० लाख ९७ हजार रुपैयाँ भुक्तानी दिएका हुन् । सो बीमा अन्तर्गत ८ अर्ब ७५ ८७ लाख ५१ हजार रुपैयाँ बराबरको १ हजार ६५३ वटा दावी परेको थियो । त्योमध्ये कम्पनीले ३९८ वटा दावी भुक्तानी दिएको छ ।
यस्तै, मोटर बीमा (निजी) अन्तर्गत ६ करोड १६ लाख ९७ हजार र सार्वजनिक मोटर बीमामा ४ करोड ३० लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा ३ करोड ११ लाख २८ हजार, पशुपन्छी बीमामा २४ लाख ९२ हजार, कृषि बालीमा २८ लाख ४० हजार, सामून्द्रिकमा ७ लाख २१ हजार र विविध बीमा अन्तर्गत १८ लाख १२ हजार रुपैयाँ बरारबको दावी भुक्तानी दिएको हो ।



















