बाढी, पहिरोले पुर्याएको क्षति उपर १२ अर्ब २६ करोडको बीमा दावी, कम्पनीले दिए ७९करोड भुक्तानी « Arthapath.com
१३ मंसिर २०८१, बिहीबार

बाढी, पहिरोले पुर्याएको क्षति उपर १२ अर्ब २६ करोडको बीमा दावी, कम्पनीले दिए ७९करोड भुक्तानी



काठमाडौं । बाढी तथा पहिरोबाट पुर्याएको क्षति बापतको बीमा दावी भुक्तानी दिने क्रम बढ्न थालेको छ ।

पछिल्लो दुई सातामै १७ करोड ८५ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएका हुन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत असोज १० गतेदेखि १२ गतेसम्म आएको बाढी तथा पहिरो ठुलो मात्रामा क्षति पुर्याएको थियो । लगातारको वर्षाले ठुला ठुला जलविद्युत परियोजना, सवारी साधान, घर तथा पसल लगायतमा क्षति पुर्याएको थियो । सोही बाढी, पहिरोले क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब २६ करोड ४ लाख ६२ हजार रुपैयाँ बराबरको बीमा दावी पेश भएको छ ।

प्राधिकरणका अनुसार यो मंसिर १२ गते बुधवारसम्मको तथ्याङ्क हो । सो अवधिमा कम्पनीहरुले ७८ करोड ९३ लाख ८ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ । गत कात्तिक २८ गते यता मात्रै कम्पनीहरुले १७ करोड ८५ लाख बढी भुक्तानी दिएका छन् । यसमा बीमकले गरेको अग्रिम दावी भुक्तानीको विवरण पनि समावेश गरिएको प्राधिकरणले जनाएको छ । सो मितिसम्ममा ३ हजार ५२९ दावी पेश भएकोमा १ हजार २१५ वटा भुक्तानी दिएका हुन् ।

दावी पेश भएता पनि अझै राष्ट्रिय बीमा कम्पनी र ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले भुक्तानी दिएका छन् । यी बाहेकका अन्य कम्पनीहरुले भने भुक्तानीलाई तिव्रता दिएका छन् ।

हालसम्म आँकडाअनुसार शिखर इन्स्योरेन्स सर्वाधिक दावी भुक्तानी दिएको छ । कम्पनीले २७ करोड ६ लाख २० हजार रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीमा १ अर्ब १० करोड २० लाख ८१ हजार रुपैयाँ बराबरको दावी पेश भएको छ ।

यस्तै, हालसम्म सिद्धार्थ प्रिमियरले १३ करोड ६७ लाख ६१ हजार, सगरमाथा लुम्बिनीले ७ करोड ३२ लाख ८२ हजार, हिमालयन एभरेष्टले ८ करोड ५३ लाख २७ हजार, नेकोले ६ करोड ९० लाख ५५ हजार, आइजीआई प्रुडेन्सियलले ६ करोड २ लाख ९८ हजार, ओरियण्टलले २ करोड १ लाख, सानिमा जिआइसीले ३ करोड ३७ लाख, एनएलजीले १ करोड २६ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।

यस्तै, नेपाल इन्स्योरेन्सले १ करोड १८ लाख ५१ हजार, प्रभूले ६९ लाख ३० हजार, युनाइटेड अजोडले ५८ लाख ४ हजार, नेपाल माइक्रोले ५ लाख, प्रोटेक्टिभ माइक्रोले १ लाख र स्टार माइक्रोले २६ हजार रुपैयाँ बराबरको भुक्तानी दिएका छन् ।

प्राधिकरणका अनुसार बाढी, पहिरोबाट पुर्याएको क्षति उपर सबैभन्दा धेरै सम्पत्ति बीमामा दावी पेश भएको छ । हालसम्म सम्पत्ति बीमा अन्तर्गत ९० करोड १९ लाख बराबरको १ हजार ७१६ वटा दावी पेश भएका छन् । तर, मंसिर १२ गतेसम्मम सम्पत्ति बीमा अन्तर्गत ५८ करोड ८३ लाख भुक्तानी दिएका छन् ।

यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा ४ करोड २७ लाख २४ हजार, मोटर बीमा (निजी) तर्फ ८ करोड ४७ लाख र सार्वजनिक तर्फ ६ करोड ११ लाख ८८ हजार रुपैयाँ दावी भुक्तानी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्