बढ्न थाल्यो मोटर र सम्पत्ति बीमा : व्यवसायमा ५८ प्रतिशत योगदान, कसको बजार हिस्सा कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बढ्न थाल्यो मोटर र सम्पत्ति बीमा : व्यवसायमा ५८ प्रतिशत योगदान, कसको बजार हिस्सा कति ?



काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटरको बीमाको योगदान बढ्न थालेको छ । व्यवसायमा सर्वाधिक हिस्सा नै मोटर बीमाले ओगटेको छ ।

नेपाल बीमा प्राधिकणका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कम्पनीहरुले १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हाल १४ वटा ठुला र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् ।

यसमा मोटर बीमाको हिस्सा ३१.५५ प्रतिशत छ । नेपालमा सम्पत्ति र मोटर बीमालाई कानुनी रुपमै अनिवार्य गरिएको छ । सरकारले मोटर बीमा सम्पत्ति बीमालाई अनिवार्य गरेकाले नै यी बीमा व्यवसाय बढ्दो देखिएको हो ।

चालु आवको कात्तिक मसान्तसम्ममा कम्पनीहरुले मोटर बीमा मार्फत ४ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चार महिनामा कम्पनीहरुले ४ लाख ९५हजार ५३१ वटा मोटर बीमालेख बिक्री गरेका हुन् । गत आवको कात्तिक मसान्तसम्मको तुलनामा मोटर बीमा व्यवसायमा पनि ८.२१ प्रतिशत वृद्धि भएको छ ।

मोटरपछि सम्पत्ति बीमाको योगदान धेरै देखिन्छ । कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्तिको हिस्सा २६.७६ प्रतिशत छ । चालु आवको चार महिनामा कम्पनीहरुले ३ अर्ब ८४ करोड २८ लाख रुपैयाँ बीमा शुल्क सम्पत्ति बीमा मार्फत गरेका छन् । सो अवधिमा ३ १ लाख ५९ हजार ६७६ वटा सम्पत्ति बीमालेख बिक्री गरेका हुन् । निर्जीवन बीमा व्यवसायमा सम्पत्तिको हिस्सा पनि बढ्दो नै देखिन्छ । बैंकबाट कर्जा लिँदा पनि सम्पत्तिको बीमा अनिवार्य गरिएको छ, यसले पनि कम्पनीहरुले मोटर र सम्पत्ति बीमामै बढी केन्द्रित देखिन्छन् । सम्पत्ति बीमा पनि २०.१७ प्रतिशत बढेको छ ।

निर्जीवन बीमा व्यवसाय मोटर र सम्पत्ति बीमाले नै धानेका छन् । कुल व्यवसायमा यी दुई बीमाको योगदान ५८.३१ प्रतिशत छ । चार महिनामा मोटर र सम्पत्ति बीमा मार्फत ८ अर्ब ४३ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । सो अवधिमा कम्पनीहरुले ६ लाख ६६ हजार २०७ वटा मोटर र सम्पत्ति बीमालेख बिक्री गरेका हुन् ।

यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाको योगदान १२.७८ प्रतिशत, विविध बीमाको ११.५५ प्रतिशत, सामून्द्रिकको ५.७ प्रतिशत, कृषि तथा बालीको ४.७२, हवाईको ४.६२ प्रतिशत र लघुबीमाको १.८६ प्रतिशत छ ।

समिक्षा अवधिमा इन्जिनियरिङ्ग बीमा मार्फत १ अर्ब ८३ करोड ४९ लाख, विविध मार्फत १ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यता, सामून्द्रिक बीमा मार्फत चार महिनामा ८१ करोड ७७ लाख, कृषि तथा बीमा बालीमार्फत ६७ करोड ७९ लाख, हवाई मार्फत ६६ करोड ४० लाख र लघुबीमा मार्फत २६ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

व्यवसायका लागि बागमती प्रदेशमै केन्द्रित छन् कम्पनीहरु, प्रदेशगत आँकडा यस्तो

कम्पनीहरुको व्यवसायमा आधा भन्दा धेरै बागमती प्रदेशमै केन्द्रित देखिन्छ ।

प्रदेशगत तुलनामा बागमती नै अगाडि देखिएको छ । कुल व्यवसायमा बागमती प्रदेशको योगदान ६७.०१ प्रतिशत छ । सो प्रदेश मार्फत कम्पनीहरुले ९ अर्ब ६२ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो प्रदेशमा कम्पनीहरुले ४ लाख ४७ हजार ३४२ वटा बीमालेख बिक्री गरेका हुन् ।

बागमती प्रदेश बाहेकका अन्यको योगदान भने न्युन छ । लुम्बिनी प्रदेशको योगदान ९.०७ प्रतिशत, कोशीको ८.३ प्रतिशत, मधेशको ६.७६, गण्डकीको ५.४८ प्रतिशत छ । यी प्रदेशबाट चार महिनामा कम्पनीहरुले १ अर्ब ३० करोड ३१ लाख, १ अर्ब १९ करोड २१ लाख ९७ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, सुदुरपश्चिम प्रदेशमा कम्पनीहरुले ३५ करोड ८८ लाख र कर्णालीमा १२ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कुल व्यवसायमा यी प्रदेशको योगदान क्रमशः २.५१ प्रतिशत र ०.८७ प्रतिशत देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्