चार अर्ब बढ्यो जीवन बीमा व्यापार : रिलायवल, सिटिजन र नेशनलको उच्च वृद्धि, कुनको प्रिमियम कलेक्शन कति ?

काठमाडौं । ठुला जीवन बीमा कम्पनीहरुको व्यापार वृद्धि भएको छ । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको व्यापार झन्डै चार अर्ब बढेको छ ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चार महिनामा कम्पनीहरुले ५३ अर्ब ३९ करोड ३२ लाख बढीको व्यापार गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ८ प्रतिशत अर्थात् ३ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ बढी हो । गत आवको पहिलो चार महिनामा पनि कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
समिक्षा अवधिमा कम्पनीहरुको नयाँ व्यवासय अर्थात् प्रथम बीमा शुल्क आर्जन पनि १३.५७ प्रतिशत वृद्धि भई ९ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीहरुले नविकरण मार्फत ४६ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा ४.५९ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीहरुको नयाँ तथा पुरानो व्यवसाय दुवै बढेकाले नै समग्र व्यापार वृद्धि भएको हो ।
समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ५८ प्रतिशत घटेर १ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । तर, यी बाहेकका अन्य कम्पनीहरुको व्यापारमा बढोत्तरी देखिएको छ।
व्यापारमा नेपाल लाइफकै वर्चश्व छ । कम्पनी एक्लैले चार महिनामा १५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएको छ। यो गत आवको कात्तिक मसान्तसम्मको तुलनामा १४.६७ प्रतिशत बढी हो ।
यस्तै, तेस्रो सूचीमा रहेको नेशनल लाइफको व्यापार पनि २१.६० प्रतिशत बढेर ६ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो चार महिनामा कम्पनीले ५ र्अ २९ करोड बढी बीमा शुल्क आर्जन गरेको थियो ।
व्यापार वृद्धि भने रिलायवल नेपालको उच्च देखिएको छ । समिक्षा अवधिमा कम्पनीका बीमा शुल्क आर्जन २८.५४ प्रतिशत बढेर १ अर्ब ५छ करोड ८८ लाख रुपैयाँ कायम भएको छ । वृद्धिदरको आधारमा दोस्रो सूचीमा रहेको सिजिटनल लाइफले पनि २ अर्ब १९ करोड ६४ लाख रुपैयाँको व्यापार गरेको छ । यो गत आवको तुलनामा २२.९० प्रतिशत धेरै हो ।
यस्तै, प्रभू महालक्ष्मी लाइफको बीमा शुल्क आर्जन पनि १८.५० प्रतिशत बढेर १ अर्ब ६२ करोड ७९ लाख, आइएमइको १७.८२ प्रतिशत बढेर १ अर्ब ५३ करोड ५७ लाख, सूर्यज्योतिको १७.७१ प्रतिशत बढेर ३ अर्ब २५ करोड १३ लाख, एशियनको १६ प्रतिशत बढेर २ अर्ब ७४ करोड ३५ लाख र सन नेपाल लाइफको १३.८५ प्रतिशत बढेर १ अर्ब २८ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।
यता, मेट लाइफको व्यापार ९.३१ प्रतिशत, एलआइसी नेपालको ८.८१ प्रतिशत, सानिमा रिलायन्सको ८.६५ प्रतिशत र हिमालयन लाइफको ४.०५ प्रतिशत वृद्धि भएको हो । समिक्षा अवधिमा यी कम्पनीहरुले क्रमशः १ अर्ब ८७ करोड ५१ लाख, ६ अर्ब ५ करोड ९५ लाख, ५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।