वैदेशिक रोजगारमा गएका नेपाली कामदारको साढे २१ लाख बीमालेख सक्रिय, कुन कम्पनीले कति उठाए बीमा शुल्क ? « Arthapath.com
१७ मंसिर २०८१, सोमबार

वैदेशिक रोजगारमा गएका नेपाली कामदारको साढे २१ लाख बीमालेख सक्रिय, कुन कम्पनीले कति उठाए बीमा शुल्क ?



काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुको साढे २१ लाख बीमालेख सक्रिय देखिएको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

हाल वैदेशिक रोजगारमा गएका नेपालीहरुको २१ लाख ६८ लाख ५५ वटा बीमालेख सक्रिय देखिएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ, सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो ।

हाल नेशनल, नेपाल, एशियन, आइएमई, सन नेपाल, रिलायवल, सिटिजन, सूर्यज्योति, सानिमा रिलायन्स, हिमालयन, प्रभू महालक्ष्मी लाइफले वैदेशिक रोजगार बीमा गर्दै आएका छन्। यता, लघुबीमा तर्फ गार्डियन माइक्रो, क्रेष्ट र लिवर्टी माइक्रो लाइफले पनि वैदेशिक रोजगार बीमा गर्दै आएका छन् ।

ती कम्पनीहरुले चालु आवको चार महिनामा वैदेशिक रोजगार बीमा मार्फत १ अर्ब ५ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको कात्तिक मसान्तसम्मको तुलनामा १८.६२ प्रतिशत बढी धेरै हो । गत आवको सो अवधिमा पनि कम्पनीहरुले ८९ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

प्राधिकरणका अनुसार कात्तिकमा मात्रै कम्पनीहरुले ७९ हजार ३७९ वटा बीमालेख बिक्री गरि ३३ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफको हिस्सा सर्वाधिक छ । चार महिनामा कम्पनीले ४६ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल वैदेशिक रोजगार बीमा व्यापारको ४४ प्रतिशत हुन आउँछ । सो अवधिमा कम्पनीमा ७ लाख ६८ हजार ८९० वटा बीमालेख सक्रिय देखिएको छ ।

समिक्षा अवधिमा एशियन लाइफले पनि पनि २० करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बीमा व्यापार गरेको छ ।

यस्तै, नेपाल लाइफले ८ करोड ९६ लाख, नेशनल लाइफले ८ करोड ३२ लाख, सानिमा रिलायन्सको ५ करोड ३४ लाख, सूर्यज्योति ५ करोड १७ लाख, रिलायवल नेपालले ४ करोड ३० लाख, आइएमईले ३ करोड ६३ लाख, सिटिजनको २ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार मार्फत संकलन गरेका छन् ।

यता, प्रभू महालक्ष्मीले १२ लाख, गार्डियन माइक्रोले १ लाख, क्रेष्टले १ लाख र लिवर्टी माइक्रोले ४ लाख रुपैयाँ बराबरको वैदेशिक बीमा व्यापार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्