उकालो यात्रामा नेपाली बीमा बजार, यसरी सुधारिँदै छ व्यापार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

उकालो यात्रामा नेपाली बीमा बजार, यसरी सुधारिँदै छ व्यापार



काठमाडौं । बीमा व्यवसायमा क्रमिक सुधार देखिएको छ । आर्थिक शिथिलताले सुस्ताएका नेपाली बीमा बजारमा पछिल्लो समय सकरात्मक लय समाएको छ ।

हाल नेपालको समग्र बीमा व्यवसाय साढे ९ प्रतिशत वृद्धि भएको छ । नेपाल बीमा प्राधिरकणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) को तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको चार महिनामा हाल संचालनमा रहेको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल व्यावसाय ९.४४ प्रतिशत वृद्धि भएको छ । हाल १४–१४ वटा ठुला जीवन र निर्जीवन कम्पनी र सात वटा लघु बीमा कम्पनी संचालनमा छन् ।

ती कम्पनीहरुले चार महिनामा कुल ६८ अर्ब ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ५ अर्ब ८६ करोड ९३ लाख बढी हो । गत आवको पहिलो चार महिनामा कम्पनीहरुले ६२ अर्ब १८ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

केही समयदेखि आर्थिक शिथिलताका नेपाली बीमा बजार सुस्ताएको थियो । विशेषगरि कोरोना महामारी, प्राकृतिक विपद र आर्थिक गतिविधि करिब–करिब ठप्प जस्तै थियो । त्यही बेला देखि नै बीमा बजार पनि निकै नै प्रभावित भएको थियो । तर, अहिले विस्तारै वृद्धि हुँदै गरेको छ । तर, हाल कारोना महामारी साम्य भइसेको छ, भने आर्थिक गतिविधि पनि विस्तारै चलायमान हुँदै गएका छन् । निर्माण, व्यवसाय बैंकिङ क्षेत्रमा पनि सुधार आउन थालेको छ, यस्ता कारणले बीमा व्यवसायमा सकरात्मक प्रभाव परेको छ ।

प्राधिकरणका अनुसार जीवन बीमा भन्दा निर्जीवन बीमा व्यवसाय वृद्धिदर सकरात्मक छ । निर्जीवन बीमा व्यापार दोहोरो अंकमा वृद्धि भएको छ ।

गत आवको पहिलो चार महिनामा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने यस्तो बीमा शुल्क आर्जन १२.६४ प्रतिशत वृद्धि भई १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ कायम भएको छ ।

चार महिनाको अवधिमा कम्पनीहरुले ९ लाख ९८ हजार ५९६ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् । कम्पनीहरुको बीमालेख बिक्री ११.६ प्रतिशत वृद्धि भएको हो । गत आवको सो अवधिमा पनि कम्पनीहरुले ८ लाख ९४ हजार ५२४ वटा बीमालेख बिक्री गरेका थिए ।

जीवन बीमा कम्पनीको नयाँ व्यापारमा उल्लेख्य सुधार, चार महिनामा साढे ५३ अर्ब प्रिमियम कलेक्शन

जीवन बीमा व्यवसाय पनि साढे ८ प्रतिशत वृद्धि भएको छ ।

चार महिनामा कम्पनीहरुले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने यो ८.६१ प्रतिशत बढी हो । गत आवको पहिलो चार महिनामा कम्पनीहरुले ४९ अर्ब ४४ करोड ११ लाख बीमा शुल्क आर्जन गरेका थिए ।

कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन व्यापक सुधार देखिएको छ । कम्पनीहरुको यस्तो बीमा शुल्क आर्जन २७.६१ प्रतिशत वृद्धि भई ११ अर्ब १ करोड ६ लाख रुपैयाँ कायम भएको छ । गत आवको पहिलो चार महिनामा कम्पनीहरुले ८ अर्ब ६२ करोड ८५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । यता, पुरानो व्यवसाय अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क पनि ४.६० प्रतिशत वृद्धि भएको छ ।

कम्पनीहरुले गत आवको कात्तिक मसान्तसम्ममा ४० अर्ब ८१ करोड २६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा भने ४२ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जीवन बीमालेख बिक्रीदर भने सामान्य मात्रै वृद्धि भएको छ । हाल १ करोड ३८ लाख ४ हजार ६४७ वटा जीवन बीमालेख सक्रिय छन् ।


प्रतिक्रिया दिनुहोस्