ठुला जीवन बीमा कम्पनीको नयाँ व्यवसायमा दोहोरो अंकको वृद्धि, दुई वटा बाहेक सबैको व्यापार बढ्यो « Arthapath.com
११ पुष २०८१, बिहीबार

ठुला जीवन बीमा कम्पनीको नयाँ व्यवसायमा दोहोरो अंकको वृद्धि, दुई वटा बाहेक सबैको व्यापार बढ्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय दोहोरो अंकले वृद्धि भएको छ । पाँच महिनामै कम्पनीहरुले साढे १२ अर्ब रुपैयाँको नयाँ व्यवसाय भित्र्याएका छन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको पाँच महिनामा कम्पनीहरुले १२ अर्ब ४७ करोड १ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १३.६४ प्रतिशत बढी हो । गत आवको मंसिर मसान्तसम्ममा कम्पनीहरुको यस्तो बीमा शुल्क १० अर्ब ९७ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

आर्थिक शिथिलताका कारण बीमा कम्पनीहरुको व्यवसाय नै सुस्त थियो । हाल विस्तारै आर्थिक गतिविधि बढ्न थालेसँगै कम्पनीहरुको व्यापारमा पनि सुधार देखिन्छ थालेको छ ।

हाल संचालनमा रहेको १४ ठुला जीवन बीमक मध्ये दुई वटा नयाँ व्यवसायमा गिरावट देखिएको छ । प्राधिकरणका अनुसार गत आवको मंसिरको तुलनामा सन नेपाल लाइफ र आइएमई लाइफको नयाँ व्यवसाय क्रमशः ३३.४६ प्रतिशत र १६.०५ प्रतिशत घटेको छ । समिक्षा अवधिमा आइएमई लाइफको प्रथम बीमा शुल्क आर्जन ४२ करोड ८ लाख र सन नेपालको ३४ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । यी बाहेकका अन्य कम्पनीहरुको नयाँ बिजनेश उल्लेख्य बढेको देखिन्छ ।

नयाँ व्यवसाय बढाउन राष्ट्रिय जीवन बीमा कम्पनी तगडा देखिएको छ । कम्पनीको यस्तो व्यवसाय ४६.८० प्रतिशत बढेर ४१ करोड ४६ लाख रुपैयाँ पुगेको छ । वृद्धिदरमा प्रभू महालक्ष्मी लाइफ पनि दोस्रो सूचीमा छ । कम्पनीका प्रथम बीमा शुल्क आर्जन २८.४० प्रतिशत बढेर ४३ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

यता, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को पनि प्रथम बीमा शुल्क आर्जन २७.१९ प्रतिशत वृद्धि भई १ अर्ब २ रकोड ७० लाख रुपैयाँ कायम भएको छ ।

रकमको आधारमा भने नेपाल लाइफको आकार ठुलो छ । कम्पनीले पाँच महिनामा ३ अर्ब २१ करोड १३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ । यो गत आवको मंसिरको तुलनामा २४.०३ प्रतिशत बढी हो । दोस्रो सूचीमा रहेको नेशनल लाइफले पनि पाँच महिनामै १ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ । कम्पनीले प्रथम बीमा शुल्क आर्जन १६.५६ प्रतिशत बढाएको देखिन्छ ।

समिक्षा अवधिमा सूर्यज्योति लाइफको नयाँ व्यवसाय १७.७७ प्रतिशत, हिमालयनको १५.८९ प्रतिशत, सिटिजनको ११.८१ प्रतिशत, मेट लाइफको ५.०७ प्रतिशत, सानिमा रिलायन्सको ४.६२ प्रतिशत, एशियनको ३.३५ प्रतिशत र रिलायवल नेपालको सामान्य (०.७० प्रतिशत) वृद्धि भएको छ।

ठुला जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन, रकम दश लाखमा

स्रोतः नेपाल बीमा प्राधिकरण


प्रतिक्रिया दिनुहोस्