बाढी पहिरो वितन्डाको तीन महिना : पौने १३ अर्बको बीमा दावी पेश, कम्पनीहरुको भुक्तानी ११.८० प्रतिशत मात्रै
![](https://www.arthapath.com/wp-content/uploads/2021/07/badhi-pahiro.jpg)
काठमाडौं । गत असोजमा आएको बाढीले पुर्याएको क्षति उपर परेको दावीमा बीमा कम्पनीहरुले ११.८० प्रतिशत मात्रै भुक्तानी दिएका छन् । अनुसार तीन महिना वितिसक्दा कम्पनीहरुले डेढ अर्ब मात्रै भुक्तानी दिएका हुन् ।
गत असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षका कारण ठुलो क्षति भएको थियो । बाढी तथा पहिरोका कारण ठुला जलविद्युत परियोजना, पूर्वाधार, सवारी साधान, घर तथा पसलहरुमा व्यापाक क्षति पुर्याएको थियो ।
उक्त क्षति उपर निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब ८८ करोड ९३ लाख ६१ हजार रुपैयाँ बराबरको दावी पेश भएका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत बुधवार (पुस १० गते) सम्म कुल ३ हजार ६७६ वटा दावी पेश भएको हो । तर, हालसम्म कम्पनीहरुले भने त्यसको ११.८० प्रतिशत मात्रै भुक्तानी दिएका छन् । कम्पनीहरुले तीन महिनामा १ अर्ब ५२ करोड १८ लाख ९ हजार रुपैयाँ बराबरको मात्रै १ हजार ७२० वटा भुक्तानी दिएका हुन् । यसमा बीमा कम्पनीले गरेको अग्रिम दावी भुक्तानीको विवरण पनि समावेश गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै सम्पत्ति बीमालेख अन्तर्गत १ अर्ब ११ करोड ५८ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।
मोटर बीमा (निजी) तर्फ १५ करोड ७२ लाख ६७ हजार र सार्वजनिक तर्फ १६ करोड ५६ लाख ४ हजार, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा ५ करोड ७ लाख, सामुन्द्रिक बीमामा १ करोड ६९ लाख ३१ हजार, कृषि बाली बीमा ७४ लाख ७७ हजार, पशुपन्छी बीमामा ४८ लाख ८३ हजार र विविध (कैफियतमा उल्लेख गर्ने) बीमामा भने ३० लाख ९९ हजार रुपैयाँ दावी भुक्तानी गरेका हुन् ।
शिखरले दियो सबैभन्दा ठुलो भुक्तानी, अन्य कुन कम्पनीले कति दिए ?
प्राधिकरणका अनुसार सबैभन्दा धेरै दावी भुक्तानी शिखर इन्स्योरेन्सले दिएको छ । कम्पनीले कुल ३१ करोड ३८ लाख ६८ हजार रुपैयाँ दावी भुक्तानी दिएको हो । यो कुल भुक्तानीको २०.६२ प्रतिशत हुन् आउँछ । यद्यपि, कम्पनीमा १ अर्ब ८१ लाख ५४ हजार बढीको दावी पेश भएको छ ।
यस्तै, सिद्धार्थ प्रिमियरले पनि ३० करोड ३५ लाख १९ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीले २० करोड ४३ लाख ४४ हजार रुपैयाँ दावी भुक्तानी दिएका छन् ।
यता, हिमालयन एभरेष्टले १३ करोड ६२ लाख ६८ हजार, सानिमा जिआइसीले १३ करोड २१ लाख ७७ हजार, आइजीआई प्रुडेन्सियलले ११ करोड ६५ लाख ५३ हजार, नेकोले १० करोड ३४ लाख, एनएलजीले ८ करोड ४ लाख, ओरियण्टलले ५ करोड ३ लाख, युनाईटेड अजोडले २ करोड ६४ लाख, नेपाल इन्स्योरेन्सले २ करोड १३ लाख, नेशनलले १ करोड ८५ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।
तर, हालसम्म पनि राष्ट्रिय बीमा कम्पनीले भने भुक्तानी नै दिएको छैन् । कम्पनीमा कुल २० करोड ७३ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।
![](https://www.arthapath.com/wp-content/uploads/2024/12/image-76-768x514.png)