चार कम्पनीको कब्जामा जीवन बीमा व्यापार: नेशनल र एलआइसीबीच कडा टक्कर, बजार प्रतिस्पर्धा कस्तो ?

काठमाडौं । जीवन बीमा व्यवसायमा क्रमिक रुपमा सुधार आएको छ । पछिल्लो ६ महिनामै कम्पनीहरुले साढे ८० अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । ६ महिनामा १४ ठुला जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख ४७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ८.६८ प्रतिशत बढी हो । गत वर्षको वर्ष भन्दा कम्पनीहरुको व्यवसायको आधार ६ अर्ब ४४ करोड रुपैयाँ बढाएका छन् ।
हाल कम्पनीहरुमा १ करोड ३३ लाख ७२ हजार १०९ वटा बीमालेख सक्रिय छन् । चालु आवको दोस्रो त्रैमासमा कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन १५ र्अ ८४ करोड १४ लाख रुपैयाँ पुगेको छ । यता, वैदेशिक रोजगार बीमा मार्फत पनि १ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समिक्षा अवधिमा कम्पनीहरुले नविकरण मार्फत ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको आँकडा छ ।
अधिकांश कम्पनीहरुको व्यवसाय ग्रोथ दोहोरो अंकमा देखिएता पनि राष्ट्रिय जीवन बीमा कम्पनीको भने गिरावट आएको छ । समिक्षा अवधिमा कम्पनीको व्यापार ४१.६९ प्रतिशत घटेर २ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । यो बाहेक सबै कम्पनीहरुले व्यवसाय बढाएका छन् ।
जीवन बीमा व्यवसायमा नेपाल लाइफकै वर्चश्व कायमै छ । कुल व्यवसायको झन्डै २८ प्रतिशत हिस्सा नेपाल लाइफको छ । चालु आवको ६ महिनामै कम्पनीले २२ अर्ब ४५ करोड ७७ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको तुलनामा भने १२.१६ प्रतिशत बढी हो ।
व्यापार हिस्साको आधारमा नेपाल लाइफ, नेशनल, एलआइसी नेपाल र हिमालयन लाइफ अगाडि छन् । यी चार कम्पनीहरुले मात्रै ६१.७९ प्रतिशत बीमा शुल्क आर्जन गरेका छन् ।
कुल व्यवसायमा नेपाल लाइफको २७.८४ प्रतिशत, नेशनलको ११.९१ प्रतिशत, एलआइसी नेपालको ११.७२ प्रतिशत र हिमालयन लाइफको १०.३२ प्रतिशत छ । यी बाहेकका १० वटा जीवन बीमा कम्पनीहरुको बजार हिस्सा १० प्रतिशत कम छ । पुस मसान्तसम्मको आँकडाले हेर्नेहो भने ६ प्रतिशत कम योगदान देखिन्छ ।
नेपाल लाइफपछि नेशनल लाइफले सर्वाधिक व्यापार गर्दै आएको छ । व्यवसायको आधारमा नेशनल र लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल बीच प्रतिस्पर्धा देखिएको छ । यी दुई कम्पनीको व्यवसायको आकार करिब करिब बराबरी जस्तै छ ।
चालु आवको ६ महिनामा नेशनल लाइफले कम्पनीले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो गत अवाको तुलनामा १२.१४ प्रतिशत बढी हो । यता, एलआइसी नेपालले पनि ९ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनी पनि आफ्नो व्यापार विस्तारमा तगडा नै देखिएको छ । गत वर्षको तुलनामा कम्पनीको व्यवसायको आकार ९.६६ प्रतिशत बढेको हो ।
चौंथो सूचीमा रहेको हिमालयन लाइफले पनि ८ अर्ब ३३ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर, कम्पनीको व्यवसाय ग्रोथ भने अलि सुस्त देखिएको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने हिमालयनको व्यवसाय २.९३ प्रतिशत मात्रै बढी हो । यद्यपि, कुल व्यवसायमा कम्पनीको १०.३२ प्रतिशत योगदान छ ।
व्यापार बढाउन भने सिटिजन र रिलायवल नेपाल लाइफ बीच टक्कर देखिएको छ । यी दुई कम्पनीको ग्रोथ उस्तै उस्तै अंकमा छ । समिक्षा अवधिमा सिटिजन लाइफको व्यापार २३.६० प्रतिशत बढेर ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कायम भएको छ । यता, रिलायवल लाइफको पनि २३.४१ प्रतिशत बढेर २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा प्रभू महालक्ष्मी लाइफको व्यापार १९.०९ प्रतिशत, सूर्यज्योतिको १८.२६ प्रतिशत, आइएमईको १५.७२ प्रतिशत, सानिमा रिलायन्सको १३.४९ प्रतिशत, एशियनको १३.१४ प्रतिशत, सन नेपालको १२.५२ प्रतिशत र मेट लाइफको ६.७८ प्रतिशत वृद्धि भएको छ ।
चालु आवको पुस मसान्तसम्म कुन कम्पनीले कति बीमा शुल्क आर्जन गरे ? (रकम लाखमा)
