नयाँ व्यवसाय भित्र्याउन एग्रेसिभ देखिए ठुला जीवन बीमा कम्पनी : कसको बढ्यो, कसको घट्यो ?

काठमाडौं । नयाँ व्यवसाय विस्तारमा ठुला जीवन बीमा कम्पनीहरु तातिएका छन् । कम्पनीहरुले नयाँ व्यापार साढे १४ प्रतिशत बढाएका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
आधा वर्षमा १४ वटा कम्पनीहरुले १५ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबरको नयाँ व्यापार अर्थात् प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको पुस मसान्तसम्मको तुलनामा भने १४.६५ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीरुले १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ बराबरको नयाँ व्यापार गरेका थिए ।
कम्पनीहरुले कुल व्यवासयको झन्डै २० प्रतिशत नयाँ व्यापार गरेका छन् । समिक्षा अवधिमा कम्पनीहरुको कुल व्यवायको आकार ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ पुगेको छ । त्यसमा १९.६३ प्रतिशत योगदान प्रथम बीमा शुल्क छ ।
विस्तारै आर्थिक गतिविधि बढ्न थालेसँगै बीमा कम्पनीहरुको व्यवसायको आकार पनि बढ्न थालेको छ । आर्थिक शिथिलताका कारण बीमा कम्पनीहरुको व्यवसाय नै सुस्त थियो । तर, पछिल्लो समय भने क्रमिक रुपमा सुधारिँदै आएको देखिन्छ ।
दोस्रो त्रैमासमा तीन वटा कम्पनीको बाहेक सबैको नयाँ व्यापार बढेको छ । समिक्षा अवधिमा सन नेपाल लाइफको प्रथम बीमा शुल्क आर्जन २९.१७ प्रतिशत, आइएमईको ११.०५ प्रतिशत र रिलायवल नेपाल लाइफको २.९४ प्रतिशत गिरावट आएको छ ।
नयाँ व्यवसाय भित्र्याउन प्रभू महालक्ष्मी लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी एग्रेसिभ देखिएका छन् । समिक्षा अवधिमा प्रभू महालक्ष्मीको प्रथम बीमा शुल्क आर्जन ४८.९४ प्रतिशत बढेर ६० करोड ४५ लाख रुपैयाँ पुगेको छ । यता, राष्ट्रिय जीवन बीमाको भने ४१.२६ प्रतिशत बढेर ४४ करोड ९१ लाख रुपैयाँ पुगेको छ।
यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको नयाँ व्यावसाय पनि २७ प्रतिशत, नेपाल लाइफको २४ प्रतिशत र सूर्यज्योति लाइफको २२.९६ प्रतिशत वृद्धि भएको छ ।
रकमको आधारमा भने पहिलो सूचीमा नेपाल लाइफ नै छ । कम्पनीले ६ महिनामा ३ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ ।
दोस्रो सूचीमा रहेको नेशनल लाइफले पनि २ अर्ब ३४ करोड २० लाख, तेस्रो एलआइसी नेपालले १ अर्ब ३३ करोड, चौंथो हिमालयनले १ अर्ब १९ करोड ६२ लाख र सूर्यज्योति लाइफले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
यता, हिमालयन लाइफको प्रथम बीमा शुल्क आर्जन पनि १३.५८ प्रतिशत, सिटिजनको १३.०८ प्रतिशत, सानिमा रिलायन्सको ६.०२, एशियनको ४.९६ र मेट लाइफको ३.८६ प्रतिशत बढेको देखिन्छ ।
कुन कम्पनीले कति भित्र्याए नयाँ व्यवसाय ?
