निर्जीवन बीमा व्यापार : पुनः ‘नम्बर वान’को सूचीमा फर्कियो शिखर, नेपाल र ओरियण्टल एग्रेशिभ

काठमाडौं । निर्जीवन बीमा व्यवसायको आकार झन्डै २१ अर्ब पुगेको छ । कम्पनीहरुको व्यवसाय एक वर्षमा डेढ अर्ब बढेको छ ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक विवरणले यस्तो देखाएको हो ।
चालु आवको ६ महिनामा १४ ठुला निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ७.६७ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड बढी धेरै हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीहरुले कुल १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
चालु आवको ६ महिनामा कम्पनीहरुले १३ लाख ८९ हजार ३१९ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् ।
सर्वाधिक व्यापार गर्नेको पहिलो सूचीमा पुनः शिखर इन्स्योरेन्स आगमन भएको छ । गत मंसिर मसान्तसम्म भने कम्पनीले लामो समयदेखि ओगटेको पहिलो सूचीमाबाट पछि हटेको थियो ।
मर्जरपछि बनेका ठुला कम्पनीहरु व्यापार अघि देखिएका थिए । तर, पुनः शिखरले आफ्नो स्थान कायम गरेको छ । मर्जर बिना नै व्यापारमा अन्य कम्पनीलाई चुनौति दिएको छ । ६ महिनामा शिखरले २ अर्ब ५९ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा भने ५.६९ प्रतिशत बढी हो ।
मंसिरसम्म पहिलो सूचीमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) अहिले दोस्रो नम्बरमा पुगेको छ । सलिकोले ६ महिनामा २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यत वर्षको तुलनामा भने यो ७.७९ प्रतिशत बढी हो ।
व्यापार विस्तारमा शिखर र सलिको निकै प्रतिस्पर्धा देखिन्छ । व्यवसायको आकारमा यी दुई कम्पनी बीच उछिनपाछिन चलिरहन्छ । ६ महिनामा शिखरले १ लाख ४९ हजार ३९३ वटा बीमालेख बिक्री गरेको छ । यता, सलिकोले भने १ लाख ४० हजार १४ वटा बीमालेख बिक्री गरेको छ ।
व्यवसायिक आकारको हिसाबले तेस्रो सूचीमा भने सिद्धार्थ प्रिमियर छ । कम्पनीले ६ महिहनामा २ अर्ब १३ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा ८.३८ प्रतिशत धेरै हो । सो अवधिमा कम्पनीले १ लाख ५१ हजार ७५७ वटा बीमालेख बिक्री गरेको छ ।
गत वर्षको तुलनामा प्रभू र युनाईटेडको व्यापार भने घटेको छ । समिक्षा अवधिमा यी दुई कम्पनीको व्यापार क्रमशः ६.७९ प्रतिशत र७.८६ प्रतिशत घटेर ९० करोड ३९ लाख र १ अर्ब २० करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।
व्यापार बढाउन भने नेपाल इन्स्योरेन्स र ओरिण्टल इन्स्योरन्स निकै आक्रामक देखिएका छन् । समिक्षा अवधिमा नेपाल इन्स्योरेन्सको व्यापार ४५.७२ प्रतिशत बढेर १ अर्ब ९ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । यता, ओरियण्टलको पनि ४३.८९ प्रतिशत बढेर १ अर्ब ३४ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा एनएलजीको व्यापार १२.२९ प्रतिशत बढेर १ अर्ब ४० करोड ७० लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, आइजीआई प्रुडेन्सियलको व्यावसाय पनि ४.५७ प्रतिशत, सानिमा जिआइसीको ३.७३ प्रतिशत, नेकोको २.२३ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको २.७ प्रतिशत, हिमालयन एभरेष्टको २.४४ प्रतिशत र नेशनल इन्स्योरेन्सको १.०४ प्रतिशत मात्रै वृद्धि भएको छ।
कुन कम्पनीको बीमा शुल्क आर्जन कति ? (रकम लाखमा)
