१४.३९ प्रतिशत बढ्यो वैदेशिक रोजगार बीमा, कम्पनी उठाए डेढ अर्ब प्रिमियम « Arthapath.com
१४ माघ २०८१, सोमबार

१४.३९ प्रतिशत बढ्यो वैदेशिक रोजगार बीमा, कम्पनी उठाए डेढ अर्ब प्रिमियम



काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । ६ महिनामै कम्पनीहरुले डेढ अर्ब बढी वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीहरुले वैदेशिक रोजगार बीमा मार्फत १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १४.३९ प्रतिशत बढी हो ।गत आवको पुस मसान्तसम्ममा भने कम्पनीहरुले १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

हाल वैदेशिक रोजगारमा गएका नेपाली कामदारको २३ लाख ५८ हजार ९८२ वटा बीमालेख सक्रिय छन् । पुस महिनामा मात्रै कम्पनीहरुले २८ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

अहिले तीन लघुसहित १४ वटा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमा व्यवसाय गर्दै आएका छन् ।

प्राधिकरणका अनुसार वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफको योगदान उच्च छ । यस्तो व्यवसायमा सन नेपालको ४१.२४ प्रतिशत हिस्सा छ । ६ महिनामै कम्पनीले कुल ६८ करोड ६२ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ । हाल कम्पनीमा ८ लाख २१ हजार ४३४ वटा बीमालेख सक्रिय छन् ।

समिक्षा अवधिमा एशियन लाइफले पनि ३५ करोड ३१ लाख रुपैयाँ, नेपाल लाइफले १४ करोड ६७ लाख, नेशनलले ११ करोड ४७ लाख, आइएमई लाइफले ९ करोड ८४ लाख, सानिमा रिलायन्सले ८ करोड ४ लाख रुपैयाँ, रिलायवन नेपालले ६ करोड २८ लाख र सूर्यज्योतिले ६ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, सिटिजन लाइफले पनि वैदेशिक रोजगार बीमा मार्फत ४ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
समिक्षा अवधिमा गार्डियन माइक्रोले ९ लाख ५० हजार, लिवर्टी ८ लाख र क्रेष्ट माइक्रो लाइफले ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्