जीवन बीमा व्यापार : कस्तो बीमालेखमा छ बीमितहरुको बढी आकर्षण ?

काठमाडौं । जीवन बीमा व्यवसायमा सावधिक बीमा योजनाको उल्लेख्य योगदान देखिएको छ । बीमितहरुले सोही अवधिमा योजनामा आकर्षित भएको पाइन्छ ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
कुल व्यापारमा सावधिक बीमा योजनाको योगदान ३६.६३ प्रतिशत छ । कम्पनीहरुले उक्त बीमा योजना मार्फत ६ महिनाामा २९ अर्ब ७३ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले २० लाख ५५ हजार ६१२ वटा सावधिक जीवन बीमालेख बिक्री गरेका छन् ।
यता, अग्रिम भुक्तानी सावधिक जीवन बीमाको योगदान २१.७४ प्रतिशत छ । ६ महिनामा यस्तो बीमा योजना मार्फत १७ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । उक्त अवधिमा कम्पनीले ४ लाख ४५ हजार १३ वटा अग्रिम भुक्तानी सावधिक बीमालेख बिक्री गरेका छन् ।
चालु आवको ६ महिनामा कम्पनीहरुले कुल ८१ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । कम्पनीहरुले १ करोड ४० लाख ४१ हजार ३५३ वटा बीमालेख बिक्री गरेका छन् ।
प्राधिकरणका अनुसार बालबच्चा बीमा व्यापार पनि बढ्दो नै देखिएको छ । कुल व्यापारमा १५.७८ प्रतिशत योगदान छ । कम्पनीहरुले ६ महिनामा १० लाख ११ हजार ३५० वटा बालबच्चा बीमालेख बिक्री गरि कुल १२ अर्ब ८० करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता, रुपान्तरित सावधिक बीमा योजना मार्फत पनि कम्पनीहरुले १० अर्ब ५६ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो कुल व्यवसायको १३.०२ प्रतिशत हुन आउँछ । ६ महिनामा कम्पनीहरुले ५ लाख ३३ हजार ९७३ वटा रुपान्तरित बीमालेख बिक्री गरेका छन् ।
यस्तै, एकल बीमा शुल्क बीमा योजना मार्फत ३ अर्ब ४ करोड ८१ लाख, आजिवन जीवन बीमा मार्फत २ अर्ब १२ करोड ८६ लाख, वैदेशिक रोजगारी बीमा मार्फत १ अर्ब ६६ करोड ३९ लाख, अन्य जीवन बीमा १ अर्ब ५८ करोड ९३ लाख, लघु बीमा मार्फत १ अर्ब २८ करोड ७० लाख र म्यादी जीवन बीमा मार्फत ७० करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
