९ अर्ब बढ्यो बीमा व्यापार: बागमतीमै केन्द्रित छन् कम्पनी, प्रिमियम कलेक्शनमा कुन प्रदेशको योगदान कति ? « Arthapath.com
१८ माघ २०८१, शुक्रबार

९ अर्ब बढ्यो बीमा व्यापार: बागमतीमै केन्द्रित छन् कम्पनी, प्रिमियम कलेक्शनमा कुन प्रदेशको योगदान कति ?



काठमाडौं । बीमा व्यवसायको आकार झन्डै ९ अर्ब बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसायको आकार ९.४२ प्रतिशत बढाएका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्म आइपुग्दा कम्पनीहरुले १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यो गत आवको सोही अवधिमा ९३ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । समिक्षा अवधिमा जीवन बीमा व्यवसाय पनि ९.३७ प्रतिशत बढेर ८१ अर्ब १७ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । कम्पनीहरुले नविकरण मार्फत ६३ अर्ब ३९ करोड ६ लाख र प्रथम बीमा शुल्क १७ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ संकलन गरेका छन् । ६ महिनामा कम्पनीहरुले १ करोड ४० लाख ४१ हजार ३५३ वटा बीमालेख बिक्री गरेका छन् ।

यता, निर्जीवन बीमा व्यवसाय पनि ९.६० प्रतिशत बढेर २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ कायम भएको छ । कम्पनीहरुले १५ लाख ५७ हजार ७९० वटा निर्जीवन बीमालेख बिक्री गरेका हुन् ।

अब हेरौं प्रदेशगत व्यवसाय कस्तो छ

बागमती प्रदेशमै केन्द्रित जीवन बीमा व्यापार

जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशमै केन्द्रित देखिन्छ । झन्डै आधा हिस्सा बागमतीको छ । ६ महिनामा सो प्रदेशबाट ३४ अर्ब ८५ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो कुल व्यवसायको ४२.९३ प्रतिशत हुन आउँछ । सो अवधिमा कम्पनीहरुले बागमती प्रदेशमा ९८ लाख ३७ हजार ८८८ वटा बीमालेख बिक्री गरेका छन् ।

दोस्रो ठुलो व्यापार लुम्बिनी प्रदेश मार्फत गर्दै आएका छन् । कुल व्यवसायमा लुम्बिनीको योगदान १५.९८ प्रतिशत छ । लुम्बिनीमा कम्पनीहरुले १० लाख २३ हजार ७७४ वटा बीमलेख बिक्री गरी १२ अर्ब ९७ करोड ९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै, कोशी प्रदेशमा १० अर्ब ६ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।यो कुल व्यवासायको १२.४० प्रतिशत हुन आउँछ । कोशीमा कम्पनीहरुले ६ लाख ५२ हजार २६० वटा बीमालेख बिक्री गरेका छन् । यता, गण्डकीको योगदान १०.३९ प्रतिशत, मधेशको ९.०९ प्रतिशत, सुदुरपश्चिमको ६.२१ प्रतिशत र कर्णालीको ३ प्रतिशत मात्रै छ ।

निर्जीवन बीमा कम्पनीले बागमती मार्फत ६६ प्रतिशत व्यापार

निर्जीवन बीमा व्यापार पनि बागमतीमै बढी देखिन्छ । कुल व्यवासयको ६६.७२ प्रतिशत हिस्सा बागमती प्रदेशको छ । चालु आवको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब २१ करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिमा कम्पनीहरुले बागमतीमा ६ लाख ८३ हजार ६३४ वटा निर्जीवन बीमालेख बिक्री गरेका हुन् ।

यस्तै, लुम्बिनी प्रदेश मार्फत १ अर्ब ९० करोड ९२ लाख, कोशी मार्फत १ अर्ब ८५ करोड २२ लाख, मधेश मार्फत १ अर्ब ४३ करोड ५३ लाख र गण्डकी प्रदेश मार्फत १ अर्ब १४ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । कुल व्यवसायमा यी प्रदेशहरुको योगदान क्रमशः ८.९६ प्रतिशत, ८.७ प्रतिशत, ६.७३ प्रतिशत र ५.४ प्रतिशत रहेको छ ।

समिक्षा अवधिमा सुदुरपश्चिम प्रदेशमा २.५४ प्रतिशत अर्थात् ५४ करोड ५५ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन्। यता, कर्णाली प्रदेशमा भने १९ करोड ८१ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्