कहाँ कहाँ कति छ निर्जीवन बीमा कम्पनीहरुको लगानी ?

काठमाडौं । अर्थतन्त्रका विभिन्न क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरुले लगानी धमाधम बढाएका छन् । ६ महिनामै १४ ठुला निर्जीवन बीमा कम्पनीहरुले लगानी साढे ६८ अर्ब नाघेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीहरुले कुल ६८ अर्ब ७४ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् ।
यो गत आवको सोही अवधिको तुलनामा भने १०.३० प्रतिशत अर्थात् ६ अर्ब ४२ करोड रुपैयाँ बढी हो । गत आवको पहिलो ६ महिनामा कम्पनीहरुले विभिन्न क्षेत्रमा ६२ अर्ब ३२ करोड ३८ लाख रुपैयाँ लगानी गरेका थिए ।
कम्पनीहरुले हाल बैंकको मुद्दति निक्षेप, सेयर बजार, घरजग्गा, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आएका छन् ।
निर्जीवन बीमा कम्पनीहरुको पनि सबैभन्दा ठुलो लगानी बैंकहरुको मुद्दति निक्षेपमा देखिएको छ । समिक्षा अवधिमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दति निक्षेपमा ४६ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ लगानी गरेका छन् ।
यस्तै, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँ , ग वर्गको बैंक तथा वित्तीय संस्थामा १ अर्ब १६ करोड ६३ लाख रुपैयाँ निक्षेपका रुपमा लगानी गरेका छन् ।
निर्जीवन बीमा कम्पनीहरुको सेयर बजारमा लगानी भने ४ अर्ब ३९ करोड ७ लाख रुपैयाँ देखिएको छ । यो गत आवको तुलनामा २६.३२ प्रतिशत बढी हो ।
यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिवेन्चर र ऋणपत्रमा ३ अर्ब ५ करोड ३६ लाख र सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ लगानी गरेका छन् ।
प्राधिकरणका अनुसार कम्पनीहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत वकरणीय उर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब १५ करोड ४१ लाख रुपैयाँ लगानी गरेका छन् ।
यता, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८३ करोड ३९ लाख, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा १३ करोड ७ लाख, अन्य संस्थापक सेयरमा १ अर्ब ५६ करोड ७४ लाख, सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा ९५ लाख र अन्य लगानी शीर्षकमा २ अर्ब २९ करोड २९ लाख रुपैयाँ देखिएको छ।
विभिन्न क्षेत्रमा सिद्धार्थ प्रिमियर ८ अर्ब ६१ करोड ५४ लाख र राष्ट्रिय बीमा कम्पनीको कुल ८ अर्ब १२ करोड ४१ लाख रुपैयाँ छ ।
सगरमाथा लुम्बिनीको कुल लगानी ६ अर्ब ४८ करोड ७ लाख, हिमालयन एभरेष्टको ५ अर्ब ६ करोड १९ लाख, शिखरको ४ अर्ब ७६ करोड ८७ लाख, आइजीआई प्रुडेन्सियल ५ अर्ब २१ करोड ७ लाख, नेपाल इन्स्योरेन्सको ४ अर्ब ७८ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
ओरियण्टलको ३ अर्ब ७८ करोड ७६ लाख, नेशनल इन्स्योरेन्से २ अर्ब ७७ करोड ४९ लाख, नेको इन्स्योरेन्सको ६ अर्ब ५३ करोड ८३ लाख, प्रभू इन्स्योरेन्सको लगानी २ अर्ब ४९ करोड ८ लाख, , एनएलजीको २ अर्ब ६८ करोड ८ लाख, सानिमा जिआइसीको ३ अर्ब ४७ करोड ४० लाख र युनाईटेड अजोडको ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ रहेको छ।