बाढी पहिरोको क्षति उपर १२ अर्ब ७८ करोड बीमा दावी पेश, कम्पनीहरुले दिए साढे २ अर्ब, कसले कति ? « Arthapath.com
२५ माघ २०८१, शुक्रबार

बाढी पहिरोको क्षति उपर १२ अर्ब ७८ करोड बीमा दावी पेश, कम्पनीहरुले दिए साढे २ अर्ब, कसले कति ?



काठमाडौं । बाढी पहिरोले पुर्याएको क्षति उपर परेको बीमा दावीमा कम्पनीहरुले १९.५७ प्रतिशत मात्रै भुक्तानी दिएका छन् ।

गत असोजमा आएको अविरल वर्षका बाढी पहिरोबाट निकै ठुलो क्षति पुर्याएको थियो । बाढी, पहिरोका कारण ठुला ठुला जलविद्युत परियोजना, पूर्वाधार लगायतमा क्षति पुर्याएको थियो । घर तथा पसलहरु, सवारी सधानहरुमा व्यापाक क्षति पुगेको थियो ।

बाढी पहिरो पुर्र्याएको क्षति उपर बीमा कम्पनीहरुमा १२ अर्ब ७८ करोड २४ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।

बुधवार (माघ २३ गते) सम्ममा १८ वटा निर्जीवन बीमा कम्पनीहरुमा ३ हजार ७१० वटा दावी पेश भएका छन् । तर, हालसम्म कम्पनीहरुले २ अर्ब ५० करोड २० लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । २ हजार २४९ वटा दावीमा मात्रै भुक्तानी दिएका हुन् । समिक्षा अवधिमा कम्पनीहरुले ९ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमालेखमा कम्पनीहरुले सबैभन्दा ठुलो भुक्तानी १ अर्ब ८७ करोड ४६ लाख रुपैयाँ दिएका छन् । यद्यपि, सो बीमालेख अन्तर्गतको भुक्तानी गर्न बाँकी दावी रकम भने ७ अर्ब ३ करोड ३४ लाख रुपैयाँ देखिएको छ ।

यस्तै, मोटर बीमा (निजी) तर्फ २१ करोड १४ लाख र सार्वजनिक तर्फ २२ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएका छन् । यता, इन्जिनियरिङ्ग तथा ठेकेदार बीमा अन्तर्गत पनि कम्पनीहरुले १५ करोड ५ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।

यस्तै, सामुन्द्रिक बीमा अन्तर्गत १ करोड ७८ लाख, पशुपन्छीमा १ करोड ३ लाख, कृषि बालि बीमामा ८२ लाख र विविध बीमा अन्तर्गत ४९ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।

कुन कम्पनीको दिए भुक्तानी, कति बाँकी ?

प्राधिकरणका अनुसार सबैभन्दा धेरै दावी भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दिएको छ । समिक्षा अवधिमा कम्पनीले ५२ करोड ५४ लाख रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीमा २ अर्ब ६३ करोड ७५ लाख रुपैयाँको दावी परेको छ । अब कम्पनीले १ अर्ब ८८ करोड ५७ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

यता, शिखर इन्स्योरेन्सले पनि ४४ करोड ४७ लाख रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीको अब ७० करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको छ ।

समिक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले पनि ३५ करोड ३७ लाख रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीको १ अर्ब १ करोड ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको छ ।

यस्तै, आइजीआई प्रुडेन्सियलले २० करोड ९१ लाख, युनाइटेड अजोडले १८ करोड ४३ लाख, नेकोले १८ करोड ४१ लाख, सानिमा जिआइसीले १७ करोड ९७ लाख, हिमालयन एभरेष्टले १५ करोड ८४ लाख, एनएलजीले १० करोड ६३ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्