‘नेपाल पुनर्बीमा’ र ‘हिमालयन रि’को अर्थतन्त्रका कुन-कुन क्षेत्रमा कति छ लगानी ? « Arthapath.com
२७ माघ २०८१, आईतवार

‘नेपाल पुनर्बीमा’ र ‘हिमालयन रि’को अर्थतन्त्रका कुन-कुन क्षेत्रमा कति छ लगानी ?



काठमाडौं । दुई पुनर्बीमा कम्पनीहरुले ६ महिनामै अर्थतन्त्रका विभिन्न क्षेत्रमा साढे ४० अर्ब बढी लगानी गरेका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिन्स्योरेन्सले विभिन्न क्षेत्रमा ४० अर्ब ६३ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १३.६९ प्रतिशत बढी हो । गत आवको पहिलो ६ महिनामा ३५ र्अ ७४ करोड १३ लाख रुपैयाँ लगानी गरेका थिए ।

नेपाल रिको कुल लगानी २१ अर्ब १० करोड ७८ लाख रुपैयाँ छ, जुन गत आवको सोही अवधिको तुलनामा भने ३.३४ प्रतिशत बढी हो । यता, लगानी विस्तारमा हिमालयन रि आक्रामक देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले विभिन्न क्षेत्रमा १५ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ लगानी गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा २७.५० प्रतिशत बढेर १९ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

नेपालका बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आएका छन् ।

कम्पनीहरुले वाणिज्य बैंकको मुद्दति निक्षेपमा २९ अर्ब १८ करोड १४ लाख रुपैयाँ राखेको छन् । योमध्ये १५ अर्ब ६२ करोड ९० लाख नेपाल रिको छ भने हिमालयन रिको १३ अर्ब ५५ करोड २४ लाख रुपैयाँ छ । यस्तै, विकास बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा भने नेपाल रिको मात्रै २ अर्ब १५ करोड ३० लाख रुपैयाँ रहेको छ ।

यी दुवै वटा कम्पनीले घरजग्गामा गरिने लगानी भने शून्य छ । प्राधिकरणका अनुसार कम्पनीहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत वकरणीय उर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्र र कम्पनीहरुले सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेन्चर र ऋणमा पनि कुनै लगानी गरेका छैनन् ।

तर, सेयर बजारमा भने कुल ३ अर्ब १० करोड १२ लाख रुपैयाँ लगानी छ । यसमा हिमालयन रिको मात्रै ३ अर्ब ६५ लाख रुपैयाँ रहेको छ । यता, नेपाल रिले सेयर बजामा ९ करोड ४७ लाख रुपैयाँ मात्रै लगानी गरेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाका अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा भने नेपाल रिको १ अर्ब ३६ करोड १३ लाख र हिमालयन रिको १ अर्ब ८ करोड २१ लाख रुपैयाँ गरि कुल २ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ कायम भएको छ ।

नागरिक लगानी कोष र म्युचुअल फन्डमा भने कम्पनीहरुले ६ करोड ३४ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ९० करोड, अन्य संस्थापक सेयरमा ९७ करोड ६२ लाख, सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा ५० करोड ७२ लाख लगानी गरेका छन् । कम्पनीहरुले अन्य लगानी शीर्षकमा भने ७५ करोड रुपैयाँ देखिन्छ ।

कुन क्षेत्रमा कति लगानी ?

67a3326348213_1738748515


प्रतिक्रिया दिनुहोस्