३५ बीमा कम्पनीमा झन्डै १२ हजार कर्मचारी, कुन कम्पनीले कति बढाए ‘कर्मचारी बोनस’ ?

काठमाडौं । बीमा कम्पनीहरुका कम्पनीहरुले पाउने तलब तथा बोनस सुविधा झन्डै ५ प्रतिशत वृद्धि भएको छ ।
हाल संचालनमा रहेका जीवन तथा निर्जीवन (लघुबीमकसहित) कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
हाल १४ वटा जीवन, १४ वटा निर्जीवन, चार वटा लघु निर्जीवन र ३ वटा लघु जीवन बीमक संचालनमा छन् । ती ३५ वटा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको भत्ता तथा बोनस सुविधा लागि ५ अर्ब ६० करोड ९४ हजार रुपैयाँ छुट्याएका छन् ।
यो गत आवको सो अवधिको तुलनामा ४.९६ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा ती कम्पनीहरुले ५ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ छुट्याएका थिए । बीमा कम्पनीहरूले खुद मुनाफाको १० प्रतिशत कर्मचारीका लागि छुटाउने पर्ने व्यवस्था छ । बोनस ऐन अनुसार नै कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोही बमोजिम बीमा कम्पनीहरूले कर्मचारी बोनस व्यवस्था बापत सो रकम छुट्ट्याएका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसारहाल बीमा कम्पनीहरुमा कुल ११ हजार ९०१ जना कर्मचारीहरु छन् । ती मध्ये निर्जीवन बीमा कम्पनीमा ५ हजार ९७५ जना छन् । यता, जीवन बीमामा भने ५ हजार ९२६ जना कर्मचारी रहेका छन् ।
ठुला जीवन बीमा कम्पनीका कर्मचारी भत्ता तथा बोनस साढे ७ प्रतिशत बढ्यो
समिक्षा अवधिमा ठुला जीवन बीमा कम्पनीका कर्मचारीहरुले पाउने भत्ता तथा बोनस रकम साढे ७ प्रतिशत वृद्धि भएको छ । ६ महिनामा कम्पनीहरुले यस्तो सुविधाका लागि ३ अर्ब १२ करोड ११ लाख रुपैयाँ छुट्याएका छन् ।
यो गत वर्षको तुलनामा भने ७.६२ प्रतिशत धेरै हो । गत वर्षको सो अवधिमा भने कम्पनीहरुले २ यस्तो सुविधाका लागि २ अर्ब ९० करोड रुपैयाँ छुट्याएका थिए । जीवन बीमामा तीन वटा कम्पनीको यस्तो रकम घटेको देखिन्छ । समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीले पाउने भत्ता तथा बोनस १६.१४ प्रतिशत, नेपाल लाइफको ८.८५ प्रतिशत र सूर्यज्योतिको १.४४ प्रतिशत घटेको देखिन्छ ।

कर्मचारी खुसी पार्न आइएमई लाइफ तगडा देखिएको छ । समिक्षा अवधिमा कम्पनीले उनीहरुको सुविधाका लागि खर्चिने रकम ३९.६४ प्रतिशत बढाएर १९ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को पनि २४.५६ प्रतिशत, सन नेपाल लाइफको १८.२९ प्रतिशत, सिटिजन लाइफको १३.७९ प्रतिशत, मेट लाइफको १०.३७ प्रतिशत, नेशनल लाइफको १३.१३ प्रतिशत वृद्धि भएको छ ।
कसले कति छुट्याए ? रकम हजारमा

निर्जीवन बीमा : राष्ट्रिय बीमा कम्पनीले बढायो सर्वाधिक, पाँच वटाको घट्यो
निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको भत्ता तथा बोनस सुविधाका लागि छुट्याउने रकम भने केही गिरावट आएको छ ।
गत वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले २ अर्ब ३३ करोड ६ लाख रुपैयाँ छुट्याएको थिए । तर, यो वर्ष भने ०.३५ प्रतिशत घटेर २ अर्ब ३२ करोड २५ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीले यस्तो सुविधा सर्वाधिक ६२.४० प्रतिशत बढाएको देखिन्छ । यस्तै, नेशनल इन्स्योरेन्सले पनि ९.९९ प्रीतशत, शिखरले ८.३३ प्रतिशत वृद्धि गरेका छन् । तर, नेपाल इन्स्योरेन्सको ३१.३२ प्रतिशत, ओरियण्टलको २७.६५ प्रतिशत, युनाईटेड अजोडको १०.५५ प्रतिशत घटेको छ । यता, आइजीआई प्रुडेन्सियलको पनि ६.२८ प्रतिशत र हिमालयन एभरेष्टको १.१३ प्रतिशत गिरावट आएको छ ।
कसले कति छुट्याए ? (रकम हजारमा)

लघुबीमा तर्फ कसले कति बढाए ?
हाल संचालन रहेका सात वटा लघुबीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई छुट्याउने भत्ता तथा बोनस सुविधा बापतको रकम ४९.१५ प्रतिशत बढेको छ ।
गत वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले १० करोड ४८ लाख रुपैयाँ छुट्याएका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १५ करोड ६३ लाख रुपैयाँ छुट्याएका छन् ।

सबैभन्दा धेरै स्टार माइक्रो इन्स्योरेन्सले १५३.९८ प्रतिशत वृद्धि गरेको छ । यता, लिवर्टी माइक्रो लाइफले पनि १२१.५७ प्रतिशत बढाएको देखिन्छ ।
यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको ९८.४९ प्रतिशत, नेपाल माइक्रोको ८१.४३ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ६०.६४ प्रतिशत, गार्डियन माइक्रो लाइफको ३४.१६ प्रतिशत वृद्धि भएको छ । यता, ट्रष्ट माइक्रो इन्स्योरेन्सको भने ५२.६५ प्रतिशत घटेको देखिन्छ ।
