चार वटा कम्पनीको कब्जामा जीवन बीमा व्यापार: ग्रोथमा सिटिजन र रिलायवल एग्रेसिभ, कसको प्रिमियम कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवासयको आकार ७ महिनामा साढे ९५ अर्ब पुगेको छ । कम्पनीहरुको व्यापारमा झन्डै १० प्रतिशत वृद्धि भएको छ ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा १४ वटा ठुला जीवन बीमा कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा भने ९.७९ प्रतिशत धेरै हो । गत वर्षको माघ मसान्तसम्ममा भने कम्पनीहरुले ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार २१.२० प्रतिशत घटेर ३ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । यता, हिमालयन लाइफको व्यापारमा पनि झिनो (०.१४ प्रतिशत) गिरावट आएको छ । यी बाहेकका सबै कम्पनीहरुले व्यापार बढाएका छन् ।
व्यापार विस्तारमा सिटिजन लाइफ र रिलायवल नेपाल आक्रमक देखिएका छन् । समिक्षा अवधिमा सिटिजनको व्यापार २२ प्रतिशत वृद्धि भई ३ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यता, रिलायवल नेपालको व्यापार पनि २०.८९ प्रतिशत वृद्धि भई २ अर्ब ७९ करोड २५ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा प्रभू महालक्ष्मी लाइफको व्यापार पनि १९.८६ प्रतिशत, सूर्यज्योतिको १८.२८ प्रतिशत, आइएमई लाइफको १६.२४ प्रतिशत, एशियनको १४.४९ प्रतिशत वृद्धि भएको छ।
यता, सानिमा रिलायन्सले पनि आफ्नो व्यापार १२.६३ प्रतिशत, सन नेपालको १२.५३ प्रतिशत, मेट लाइफको ७.४० प्रतिशत वृद्धि भएको छ ।
नेपाल, नेशनल र एलआइसी नेपालको मात्रै आधा हिस्सा छ । कुल व्यापारमा यी तीन वटा कम्पनीले मात्रै ५०.७५ प्रतिशत हिस्सा ओगटेको छन् । समिक्षा अवधिमा अर्ब बढी बीमा शुल्क आर्जन गर्नेमा पनि यी तीनै वटा कम्पनी छन् । कुल व्यापारमा नेपाल लाइफको हिस्सा २७.२६ प्रतिशत योगदान छ । यस्तै, नेशनल लाइफको ११.७८ प्रतिशत र एलआइसी नेपालको ११.७१ प्रतिशत छ ।
यता, हिमालयन लाइफको पनि कुल व्यापारमा १०.३७ प्रतिशत योगदान छ । कम्पनीले ९ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
रकमको आधारमा भने सर्वाधिक व्यापार नेपाल लाइफको नै देखिन्छ । कम्पनीले ७ महिनामै २६ अर्ब ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । व्यापारमा भने नेशनल लाइफ पनि तगडा नै छ । नेशनल व्यापारको आधारमा दोस्रो पोजिशनमा छ । समिक्षा अवधिमा कम्पनीले ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यता, तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले पनि ११ अर्ब १७ करोड ९ लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ । यो गत वर्षको तुलनामा भने १०.९ प्रतिशत बढी हो ।
जीवन बीमा व्यापारः कुन कम्पनीले कति उठाए बीमा शुल्क ? (रकम लाखमा)
