साढे १४ प्रतिशत बढ्यो ठुला जीवन बीमा कम्पनीको नयाँ व्यवसाय, कसले कति भित्र्याए ?

काठमाडौं । ठुला जीवन बीमा कम्पनीहरुको नयाँ व्यापारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । ६ महिनामै कम्पनीहरुले साढे १८ अर्ब रुपैयाँ बराबरको नयाँ व्यावसाय भित्र्याएका छन् ।
नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
७ महिनामा कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन १८ अर्ब ४३ करोड ४ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा भने १४.४० प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा पनि कम्पनीहरुले १६ अर्ब ११ करोड ६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार सन नेपाल, आइएमई लाइफ र रिलायवल नेपालको नयाँ व्यवसाय घटेको देखिन्छ । समिक्षा अवधिमा यी कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन क्रमशः २९.८८ प्रतिशत, १०.७१ प्रतिशत र २.३२ प्रतिशत घटेको छ ।
तर, यी बाहेकका अन्य सबै कम्पनीहरुले भने बढाएका छन् । नयाँ व्यवसायमा पनि नेपाल लाइफकै वर्चश्व कायमै छ । ७ महिनामै कम्पनीको यस्तो व्यवसाय २४.८० प्रतिशत बढेर ४ अर्ब ५९ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।
नयाँ व्यवसाय भित्र्याउन नेशनल लाइफ पनि तगडा नै देखिएको छ । समिक्षा अवधिमा कम्पनीले २ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा भने १६.१४ प्रतिशत धेरै हो ।
समिक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपाल(एलआइसी) ले पनि १ अर्ब ५४ करोड ५४ लाख, सूर्यज्योति लाइफले १ अर्ब ३८ करोड ३४ लाख, हिमालयन लाइफले १ अर्ब ३८ करोड ७ लाख र सिटिजन लाइफले १ अर्ब ४ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
नयाँ व्यापार वृद्धिमा भने प्रभू महालक्ष्मी लाइफ शीर्ष सूचीमा छ । कम्पनीको प्रथम बीमा शुल्क आर्जन ५३.६९ प्रतिशत वृद्धि भई ७० करोड ४१ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यापार पनि ४६.७६ प्रतिशत वृद्धि भई ५१ करोड ५८ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा एशियन लाइफको नयाँ व्यवसाय ७.४४ प्रतिशत, मेट लाइफको २.२४ प्रतिशत र सानिमा रिलायन्सको १.८२ प्रतिशत वृद्धि भएको छ ।
कुन कम्पनीको प्रथम बीमा शुल्क आर्जन कति ? (रकम लाखमा)
