आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिक साधारण सभा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा काठमाडौंको धुमवाराही स्थित दियो महलमा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८०/०८१ को एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण पारित गरेको छ ।
सभाले आ.व. २०८१/०८२ को लागि कम्पनीको वाह्य लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत निर्धारण गर्न प्रस्ताव स्वीकृत गरेको छ ।
उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८०/०८१ को वितरण योग्य मुनाफाबाट कम्पनीको तत्काल कायम रहेको चुक्ता पूँजी पाँच अर्वको २१.०५२६४% का दरले हुने रकम एक अर्व पाँच करोड छब्बीस लाख बत्तीस हजार रुपैंया नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरकोे छ ।
यसका साथै उक्त सभाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरकोे छ । उक्त सभाले आर्थिक वर्ष २०८०/०८१ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्चहरु अनुमोदन गरेको छ ।
सभाध्यक्ष डा. अर्यालले सभामा बोल्दै कम्पनी आर्थिक स्थायित्व, आधुनिक प्रविधिको उपयोग, सेवा विस्तार तथा नयाँ बीमा योजनाहरूको विकास गर्दै शेयरधनीहरुको लगानीलाई सुरक्षित राख्दै दीर्घकालीन रूपमा आकर्षक प्रतिफल प्रदान गर्न तदरुकताका साथ लागिरहेको जानकारी दिए ।