१ खर्ब नाघ्यो जीवन बीमा व्यवसायको आकार, कुन कम्पनीको हिस्सा कति ? « Arthapath.com
१३ चैत्र २०८१, बुधबार

१ खर्ब नाघ्यो जीवन बीमा व्यवसायको आकार, कुन कम्पनीको हिस्सा कति ?



काठमाडौं । जीवन बीमा व्यवसायको आकार १ खर्ब नाघेको छ । हाल संचालनमा रहेका ठुला १४ वटा जीवन बीमा कम्पनीहरुले व्यवसायको आकार दोहोरो अंकमा वृद्धि गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को फागुन मसान्तसम्मको विवरणले यस्तो देखाएको हो ।

आठ महिनामा कम्पनीहरुले कुल १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छन् । यो गत वर्षको तुलनामा भने १०.३३ प्रतिशत धेरै हो । गत वर्षको फागुन मसान्तसम्ममा पनि कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

समिक्षा अवधिमा कम्पनीहरुले नविकरण मार्फत ८५ अर्ब ६१ करोड ९३ लाख, प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) २१ अर्ब १२ करोड ५४ लाख र वैदेशिक रोजगार बीमा मार्फत १ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हाल कुल सक्रिय रहेको बीमालेखको संख्या भने १ करोड ३४ लाख ४६ हजार ७९२ वटा छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबैको व्यापार वृद्धि भएको देखिन्छ । समिक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १४.३७ प्रतिशत घटेर ४ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।

जीवन बीमा व्यापारमा सर्वाधिक हिस्सा नेपाल लाइफको छ । कुल व्यवसायमा नेपाल लाइफको २७.०४ प्रतिशत योगदान छ । चालु आवको आठ महिनामा कम्पनीले व्यापार ११.७८ प्रतिशत वृद्धि गरि २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ ।
दोस्रो सूचीमा रहेको नेशनल लाइफले पनि १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको एलआइसी नेपालले १२ अर्ब ५६ करोड र चौंथो स्थानमा रहेको हिमालयन लाइफले ११ अर्ब २२ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको तुलनामा यी दुई कम्पनीको बिजनेश ग्रोथ भने क्रमशः १७.८७ प्रतिशत र ८.४९ प्रतिशत रहेको छ ।

कुल व्यवसायमा नेशनल लाइफको १२.५३ प्रतिशत, एलआइसी नेपालको ११.५५ प्रतिशत र हिमालयन लाइफको १०.३२ प्रतिशत योगदान छ ।

व्यापार बढाउन भने रिलायवल नेपाल र सिटिजन लाइफ तगडा देखिएका छन् । समिक्षा अवधिमा रिलायवलको व्यापार २०.६६ प्रतिशत वृद्धि भएको छ । यता, सिटिजनको पनि २०.४३ प्रतिशत बढेर ४ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ ।

यस्तै, प्रभू महालक्ष्मी लाइफको बीमा शुल्क आर्जन पनि १.६३ प्रतिशत, सूर्यज्योतिको १७.२९ प्रतिशत, आइएमई लाइफको १६.३२ प्रतिशत, सानिमा रिलायन्सको १२.८६ प्रतिशत, एशियन लाइफको १०.४६ प्रतिशत वृद्धि भएको छ । यता, सन नेपाल लाइफले पनि आफ्नो व्यापार ९.३८ प्रतिशत, मेट लाइफले ६.८० प्रतिशत बढाएका छन् ।

कुन कम्पनीको व्यवसाय कति ? (रकम लाखमा )


प्रतिक्रिया दिनुहोस्