तीनकुने घटना : हुलदङ्गाबाट २२ वटा गाडी र १६ घरमा क्षति, कुन बीमा कम्पनीमा कति दावी पेश ? « Arthapath.com
२१ चैत्र २०८१, बिहीबार

तीनकुने घटना : हुलदङ्गाबाट २२ वटा गाडी र १६ घरमा क्षति, कुन बीमा कम्पनीमा कति दावी पेश ?



काठमाडौं । गत शुक्रबार काठमाडौंमा राजावादीहरुको प्रदर्शनीमा भएको हुलदङ्गाका कारण बीमा कम्पनीहरुमा झन्डै ५ करोडको दावी परेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमा हाल ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा दावी पेश भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चैत २० गतेसम्मको दावी विवरणले यस्तो देखाएको हो ।

हालसम्म ११ वटा ठुला निर्जीवन बीमा कम्पनीमा ४३ वटा दावी पेश भएको छ । हुलदंगाबाट २२ वटा गाडीमा क्षति पुर्याएको उल्लेख छ ।

प्राधिकरणका मोटर बीमा (निजी) तर्फ २२ वटा दावी पेश भएको छ । मोटर बीमामा १ करोड २९ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।

यता, सोही हुलदङगाको कारण १६ वटा घर तथा भवनमा क्षति भएको छ । हालसम्म सो संख्यामा दावी पेश भएको प्राधिकरणले जनाएको छ । सम्पत्ति बीमामा ३ करोड ११ लाख ६६ हजार रुपैयाँ बराबरको १६ वटा बीमा दावी पेश भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ३७ लाख रुपैयाँ बराबरको ३ वटा, विविध बीमालेख अन्तर्गत भने १० लाख रुपैयाँ बराबरको २ वटा दावी पेश भएका छन् ।

चैत १५ गते काठमाडौंका विभिन्न क्षेत्रमा भएको प्रदर्शनीमा हुलदङ्गाका कारण विभिन्न व्यक्तिहरु (बीमित)को धनसम्पत्तिमा क्षति भएको छ । उक्त क्षतिबाट पर्न सक्ने बीमा दावीलाई सहजरुपमा यथाशक्य छिटो फछ«यौट गर्न बीमकलाई प्राधिकरणले निर्देशन दिएको थियो । हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गन प्राधिकरणले निर्देशन दिएको हो । सोही अनुसार कम्पनीहरुले क्षति उपर परेको बीमा दावी विवरण प्राधिकरणमा पेश गरेका हुन् ।

राष्ट्रिय बीमा कम्पनीमा धेरै दावी पेश, हालसम्म शिखरले मात्रै दियो भुक्तानी

प्राधिकरणका अनुसार सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीमा १ करोड २७ लाख रुपैयाँ बराबरको २ वटा बीमा दावी पेश भएको छ । दोस्रो धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ करोड १७ लाख ५० हजार बराबरको दावी पेश भएको छ ।

प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६८ लाख ९१ हजार, नेकोमा ५२ लाख, ओरिएन्टलमा ४७ लाख ५० हजार, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार, हिमालय एभरेष्टमा १६ लाख ९५ हजार, आइजीआई प्रूडेन्सियलमा १४ लाख ६० हजार, शिखरमा १३ लाख २५ हजार रुपैयाँ बराबरको दावी पेश भएको छ ।

यता, नेपाल इन्स्योरेन्समा ८ लाख ७१ हजार, प्रभू इन्स्योरेन्समा ५० हजार रुपैयाँ बराबरको दावी पेश भएको प्राधिकरणले जनाएको छ ।

कम्पनीहरुमा पौने ५ करोडसम्मको दावी पेश भएता पनि हालसम्म शिखर इन्स्योरेन्सले मात्रै ४५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले मोटर बीमा तर्फको २ वटा दावी भुक्तानी दिएको हो । अन्य कम्पनीहरुले भने हालसम्म कुनै पनि दावीमा भुक्तानी गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्