निर्जीवन बीमा बजार: शिखरको दबदबा कायमै, सलिको र सिद्धार्थको रोमाञ्चक दौड, ३ वटाको वृद्धिदर उच्च « Arthapath.com
२१ बैशाख २०८२, आईतवार

निर्जीवन बीमा बजार: शिखरको दबदबा कायमै, सलिको र सिद्धार्थको रोमाञ्चक दौड, ३ वटाको वृद्धिदर उच्च



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यापार ७ प्रतिशत वृद्धि भएको छ । ९ महिनामा कम्पनीहरुले ३२ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीहरुले ३२ अर्ब १२ करोड ९९ लाख ७५ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा ७.११ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा भने कम्पनीहरुले २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

सो अवधिमा जारी निर्जीवन बीमालेखको संख्या भने २१ लाख ३५ हजार २३३ वटा छ । जबकि, गत आवको चैत मसान्तसम्ममा भने यस्तो बीमालेखको संख्या २१ लाख ९३ हजार ५४७ वटा रहेको थियो ।

हाल संचालनमा रहेका मध्ये ११ वटा कम्पनीहरुको व्यापार वृद्धि भएको छ । तर, राष्ट्रिय बीमा कम्पनी, युनाईटेड अजोड र प्रभू महालक्ष्मीको व्यापारमा गिरावट देखिन्छ ।

गत आवको तुलनामा राष्ट्रिय बीमा कम्पनीको व्यापार १३.३ प्रतिशत घटेर १ अर्ब १३ करोड २६ लाख रुपैयाँ कायम भएको छ । यता, युनाईटेड अजोडको ६.२४ प्रतिशत घटेर १ अर्ब ८५ करोड ४९ लाख र प्रभूको १.३१ प्रतिशत घटेर १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।

व्यापारमा शिखरलाई नै नम्बर वानको ताज, सलिको र सिद्धार्थबीच उछिनपाछिन

निर्जीवन बीमा व्यवसायमा शिखर इन्स्योरेन्स नम्बर वान बनेको छ । समिक्षा अवधिमा पनि कम्पनीले सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार ९ महिनामा कम्पनीले ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको व्यावसाय वृद्धिदर भने २.८४ प्रतिशत छ । गत आवको सोही अवधिमा पनि कम्पनीले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

यता, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियरबीच भने व्यापारमा निकै प्रतिस्पर्धा देखिन्छ । सलिकोले शिखरलाई पच्छ्याउन खोजेको देखिन्छ । समिक्षा अवधिमा सलिकोले ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, सिद्धार्थले भने ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । मासिक आँकडा अनुसार यी दुवै कम्पनीहरुको व्यापारमा उछिनपाछिन चलिरहेको छ । गत आवको तुलनामा सलिको व्यापार ५.८४ प्रतिशत र सिद्धार्थको ७.४५ प्रतिशत वृद्धि भएको देखिन्छ ।

व्यवसाय बढाउन ओरियण्टलसहित तीन कम्पनी तगडा

व्यवसाय बढाउन भने ओरियण्टल इन्स्योरेन्स तगडा देखिएको छ । समिक्षा अवधिमा कम्पनीको व्यापार ४१.९१ प्रतिशत वृद्धि भई २ अर्ब १५ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।

वृद्धिदरकै आधारमा दोस्रो सूचीमा नेपाल इन्स्योरेन्स देखिन्छ । कम्पनीले ३६.०९ प्रतिशत वृद्धि गरि १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ । यता, तेस्रो सूचीमा रहेको एनएलजी इन्स्योरेन्सले भने १६.४१ प्रतिशत बढाएर २ अर्ब १३ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ । यी बाहेकका अन्य कम्पनीको व्यवसाय वृद्धिदर भने एकल अंकमै छ ।

चौंथो सूचीमा रहेको हिमालयन एभरेष्टको व्यावसाय पनि ९.२८ प्रतिशत बढेको छ । समिक्षा अवधिमा कम्पनीले २ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, सानिमा जिआइसीको व्यापार ७.८४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.५८ प्रतिशत, नेकोको ३.२५ प्रतिशत, नेशनलको ०.६२ प्रतिशत वृद्धि भएको छ ।

कुनको व्यवसाय कति ?


प्रतिक्रिया दिनुहोस्