फस्टाउँदै जीवन बीमा व्यापार : नेपाल लाइफकै वर्चश्व, वृद्धिदरमा को-को तगडा ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यापारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । ९ महिनामै ठुल जीवन बीमा कम्पनीहरुको व्यापार १ खर्ब २६ अर्ब बढी छ ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १३ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएका छन् । यो गत आवको तेस्रो त्रैमासको तुलनामा भने १४.६२ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा कम्पनीहरुको कुल १ खर्ब १० अर्ब ८ करोड २७ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए ।
हाल संचालनमा रहेका सबै कम्पनीहरुको व्यापार वृद्धि भएको छ । समिक्षा अवधिमा नविकरण मार्फत कम्पनीहरुले
९९ अर्ब ५५ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता, कम्पनीहरु नयाँ व्यवसाय भित्र्याउन तातिएका छन् । कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन १३.६८ प्रतिशत बढेर २४ अर्ब ४० करोड १ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा कम्पनीहरुको यस्तो व्यवसाय २१ अर्ब ४६ करोड २७ लाख रुपैयाँ रहेको थियो । यता, वैदेशिक रोजगार बीमा मार्फत २ अर्ब २३ करोड ३ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेका छन् ।
हाल १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमालेख सक्रिय छन् । जीवन बीमा व्यवसायमा नेपाल लाइफकै बर्चश्व छ । समिक्षा अवधिमा पनि कम्पनीले ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल व्यवसायको २६.१६ प्रतिशत हुन आउँछ । कम्पनीको व्यवसाय वृद्धिदर भने १२.१० प्रतिशत रहेको छ ।
व्यवसायको आकारमा दोस्रो सूचीमा नेशनल लाइफ छ । कम्पनीले ९ महिनामा १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तेस्रो त्रैमासको तुलनामा भने २१.२५ प्रतिशत धेरै हो ।
यता, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले पनि आफ्नो व्यापार ९.३६ प्रतिशत बढाएर १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, हिमालयन लाइफले भने १२ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर, यो गत वर्षको तुलनामा भने सामान्य अर्थात् २.१६ प्रतिशत मात्रै बढी हो ।
व्यापार बढाउनेको पहिलो सूचीमा राष्ट्रिय जीवन बीमा कम्पनी देखिएको छ । कम्पनीको व्यापार ४९.२५ प्रतिशत वृद्धि भई ८ अर्ब १६ करोड ३५ लाख रुपैयाँ कायम भएको छ ।
यता, रिलायवल नेपालको व्यापार पनि २३.७५ प्रतिशत वृद्धि भई ३ अर्ब ६९ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, प्रभू महालक्ष्मी लाइफले १९.९५ प्रतिशत, सिटिजनको १९.८४ प्रतिशत, सूर्यज्योतिको १७.३३ प्रतिशत, आइएमई लाइफको १४.६४ प्रतिशत, सानिमा रिलायन्सको १३.३२ प्रतिशत, एशियन लाइफको ११.६५ प्रतिशत, सन नेपालको १०.६२ प्रतिशत र मेट लाइफको ७.५२ प्रतिशत वृद्धि भएको छ ।
