झन्डै ११ गुणा बढ्यो लघु जीवन बीमा व्यापार, कसले कति कलेक्शन गरे प्रिमियम ?
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुको व्यापारमा उछाल आएको छ । कम्पनीहरुले व्यापार झन्डै ११ गुणा बढाएका हुन् ।
नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
९ महिनामा तीन लघु जीवन बीमकले कुल ८५ करोड ५६ लाख ९६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको चैत मसान्तसम्मको तुलनामा १०.८५ गुणा बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले ७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
समिक्षा अवधिमा कम्पनीहरुले ४८ करोड ६१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । वैदेशिक रोजगार बीमा मार्फत ३५ करोड ७० लाख रुपैयाँ र नविकरण मार्फत १ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
हाल ८ लाख ६० हजार ६३ वटा बीमालेख सक्रिय छन् । समिक्षा अवधिमा सबैभन्दा धेरै व्यवसाय गार्डियन माइक्रो लाइफले गरेको छ । ९ महिनामा कम्पनीले ३२ करोड ५८ लाख १८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २० करोड ४० लाख ५९ हजार रुपैयाँ बराबरको प्रथम बीमा शुल्क, ११ करोड ९० लाख १९ हजार रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ । यता, नविकरण मार्फत भने कम्पनीले २७ लाख ४० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हाल कम्पनीमा सक्रिय बीमालेखको संख्या ५ लाख ७८ हजार ७६७ रहेको छ ।
यस्तै, क्रेष्ट माइक्रो लाइफले पनि ३२ करोड २० लाख ९२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १९ करोड ८४ लाख ५ हजार रुपैयाँ प्रथम बीमा शुल्क, ११ करोड ९० लाख १९ हजार रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले नविकरण मार्फत भने ५० लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा हाल १ लाख ७० हजार ८२० वटा बीमालेख सक्रिय छन् ।
यता, लिवर्टी माइक्रो लाइफले पनि २० करोड ७७ लाख ८७ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले ८ करोड ३७ लाख ३३ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ । कम्पनीले वैदेशिक रोजगार बीमा मार्फत ११ करोड ९० लाख १९ हजार र नविकरण मार्फत ५० लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको गरेको छ । हाल कम्पनीमा १ लाख १० हजार ४७६ वटा बीमालेख सक्रिय छन् ।


















