बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले आज फेरि ७० अर्ब रुपैयाँ खिच्ने
काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार बजारबाट पैसा खिचिरहेको छ।
निक्षेप संकलन उपकरणको प्रयोग गर्दै केन्द्रीय बैंकले आज (जेठ २२ गते) पुनः ७० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिनुपर्नेछ। अधिकतम रकमको हकमा भने कुल आह्वान गरिएको रकम (७० अर्ब) सम्म बोलकबोल गर्न सकिनेछ।
तर, उक्त रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिनुपर्ने सर्त तोकिएको छ।
राष्ट्र बैंकका अनुसार यो बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ।
यस निक्षेप संकलन उपकरणको बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
यो ७७ दिने अवधिको निक्षेप संकलन उपकरण हो। यसरी संकलन गरिएको रकमको साँवा तथा ब्याज भुक्तानी आउँदो भदौ ५ गते गरिने राष्ट्र बैंकले जनाएको छ।


















