वैदेशिक रोजगार बीमा व्यवसायको आकार साढे २ अर्ब नाघ्यो, कुन कम्पनीले कति उठाए प्रिमियम ? « Arthapath.com
२४ बैशाख २०८२, बुधबार

वैदेशिक रोजगार बीमा व्यवसायको आकार साढे २ अर्ब नाघ्यो, कुन कम्पनीले कति उठाए प्रिमियम ?



काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायको आकार साढे २ अर्ब नाघेको छ । ९ महिनामा यस्तो व्यावसाय दोहोरो अंकमा वृद्धि भएको छ ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीहरुले वैदेशिक रोजगार बीमा मार्फत २ अर्ब ५८ करोड ७३ लाख ७० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तेस्रो त्रैमासको तुलनामा १३.२९ प्रतिशत बढी हो । गत आवको सो अवधिमा पनि कम्पनीहरुले वैदेशिक रोजगार बीमा मार्फत २ अर्ब २८ करोड ३८ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

हाल वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुको २० लाख ४२ हजार ८३२ वटा बीमालेख सक्रिय देखिएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ, सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो ।

हाल नेशनल, नेपाल, एशियन, आइएमई, सन नेपाल, रिलायवल, सिटिजन, सूर्यज्योति, सानिमा रिलायन्स, हिमालयन, प्रभू महालक्ष्मी लाइफले वैदेशिक रोजगार बीमा गर्दै आएका छन् । यता, लघुबीमा तर्फ गार्डियन माइक्रो, क्रेष्ट र लिवर्टी माइक्रो लाइफले पनि वैदेशिक रोजगार बीमा गर्दै आएका छन् ।

सबैभन्दा धेरै वैदेशिक रोजगार बीमा व्यापार सन नेपाल लाइफले गर्दै आएको छ । समिक्षा अवधिमा कम्पनीले ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ । हाल कम्पनीमा ९ लाख ७९ हजार ८२९ वटा बीमालेख सक्रिय छ ।

दोस्रो सूचीमा रहेको एशियन लाइफ इन्स्योरेन्स पनि वैदेशिक रोजगार बीमा मार्फत ६७ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा २ लाख ३३ हजार ८४२ वटा बीमालेख सक्रिय छ ।

यस्तै, नेपाल लाइफले १८ करोड ११ लाख, आइएमइले १७ करोड ६९ लाख, नेशनलले १५ करोड २६ लाख, सानिमा रिलायन्सले १२ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत संकलन गरेका छन् । समिक्षा अवधिमा यी कम्पनीहरुमा वैदेशिक रोजगारमा गएका नेपाली कामदारको क्रमशः ५ लाख ७१ हजार ४९४ वटा, २ लाख ३९ हजार ८०६ वटा, १ लाख ३२ हजार ३७३ वटा र १ लाख ३३ हजार ३१४ वटा बीमालेख सक्रिय छन् ।

समिक्षा अवधिमा रिलायवल नेपाल लाइफले ८ करोड ६८ लाख, सूर्यज्योतिले ७ करोड ९५ लाख, सिटिजन लाइफले ७ करोड ७५ लाख, प्रभू महालक्ष्मीले ३ करोड १ लाख र हिमालयन लाइफले ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता, लिवर्टी माइक्रोले ४० लाख, गार्डियन माइक्रो लाइफले ३१ लाख र क्रेष्ट माइक्रोले ४ लाख रुपैयाँ मात्रै बीमा शुल्क वैदेशिक बीमा मार्फत संकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्