सिद्धार्थ प्रिमियरले कमायो ४५ करोड ३६ लाख नाफा, कस्तो छ वित्तीय प्रगति ? « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

सिद्धार्थ प्रिमियरले कमायो ४५ करोड ३६ लाख नाफा, कस्तो छ वित्तीय प्रगति ?



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४५ करोड बढी खुद नाफा कमाएको छ ।

कम्पनीले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ४५ करोड ३६ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने २४.०३ प्रतिशत कमी हो । गत आवको सो अवधिमा कम्पनीले ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा घटेपनि कम्पनीको खुद बीमा शुल्क आर्जन भने ३.१४ प्रतिशत बढेर १ अर्ब ३७ करोड ४ लाख ११ हजार रुपैयाँ पुगेको छ । जबकि, गत वर्षको चैत मसान्तसम्ममा कम्पनीको यस्तो बीमा शुल्क १ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ मात्र थियो ।

कम्पनीको कमिसन बापतको हुने आम्दानी पनि ४१.५५ प्रतिशत बढेर ३७ करोड ६२ लाख ८२ हजार रुपैयाँ पुगेको छ । तर, लगानी तथा कर्जाबाट हुने आम्दानी भने ३०.८२ प्रतिशत घटेर ३६ करोड ४८ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी ४०.३० प्रतिशत बढेर ९२ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको ९ महिनामा कुल आम्दानी २ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीको यस्तो आम्दानी २ अर्ब १५ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

तर, कुल खर्च भने १७.१६ प्रतिशत वृद्धि भएको देखिन्छ । योसँगै ९ महिनामा कम्पनीको खर्च १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको खर्च १ अर्ब ३० करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २१.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २६३.७२ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्