निर्जीवन बीमाको नाफामा धक्का : २ वटा पुगे नोक्सानीमा, किन बिग्रियो कम्पनीहरुको ब्यालेन्स सीट ? « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

निर्जीवन बीमाको नाफामा धक्का : २ वटा पुगे नोक्सानीमा, किन बिग्रियो कम्पनीहरुको ब्यालेन्स सीट ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो निर्जीवन बीमा कम्पनीहरुको ब्यालेन्स सीट ब्रिगिएको छ । अधिकांश कम्पनीहरुको नाफा घटेको छ भने कतिपय कम्पनी नोक्सानीमा समेत देखिएका छन् ।

गत चैत मसान्तसम्मको त्रैमासिक वित्तीय विवरण अनुसार निर्जीवन बीमकको औसत नाफा ५४.४५ प्रतिशत घटेको छ ।

कम्पनीहरुले गत वर्षको सोही अवधिमा ५ अर्ब २९ करोड २० लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तर, चालु आवको तेस्रो त्रैमासमा आइपुग्दा भने कम्पनीहरुको नाफा आधा घटेर २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीहरुले दावी भुक्तानीमा ठुलो भार परेपछि नाफा प्रभावित भएको हो । गत गत असोज १० गतेदेखि १२ गतेसम्म आएको बाढी पहिरोको कारण कम्पनीहरुमा ठुलो आकारको दावी परेको छ । बाढी तथा पहिरोले ठुला–ठुला जलविद्युत आयोजना, सवारी साधान, घर तथा पसल लगायतमा क्षति पुर्याएको थियो ।

यस्तै, गत चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न ठाउमा भएका आन्दोलन तथा प्रदर्शनीबाट पनि धेरै घर, गाडी तथा अन्य पूर्वाधारहरुमा क्षति पुगेको थियो । प्राकृतिक विपत्ति बाढी पहिरो तथा आन्दोलन लगायतका कारण कम्पनीहरुले क्षतिपुर्ति बापत ठुलो बीमा दावी भुक्तानी गर्नुपरेको छ । पछिल्लो समय बाढी, डुबान, आगलागी तथा सडक दुर्घटनाजस्ता घटनाहरू बढ्दै गएकाले निर्जीवन बीमा कम्पनीहरूलाई दावी भुक्तानीमा ठूलो भार परेको छ । यस्ता कारण पनि कम्पनीहरुको नाफामा धक्का लागेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अवधिमा सानिमा जिआइसी र शिखर इन्स्योरेन्स मात्रै नाफा बढाउन सफल भएका छन् । सानिमा जिआइसीको नाफा १६.२१ प्रतिशत बढेर २३ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । यता, शिखरको भने १.७९ प्रतिशत बढेर ३५ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।

यी बाहेक सबै कम्पनीको नाफामा गिरावट देखिन्छ । झन् नेशनल र ओरियण्टल इन्स्योरेन्स त घाटामै पुगेका छन् । समिक्षा अवधिमा नेशनल इन्स्योरेन्स ७२ करोड ८१ लाख ५१ हजार रुपैयाँ नोक्सानीमा देखिन्छ । यता, ओरियण्ट भने १३ करोड ८३ लाख रुपैयाँ घाटामा छ । जबकि, गत आवको सोही अवधिमा यी दुई कम्पनीले क्रमशः १४ करोड १० लाख ४६ हजार १७ लाख रुपैयाँ नाफामा थिए ।

नाफामा सबैभन्दा ठूलो गिरावट युनाईटेड अजोडको ५७.६५ प्रतिशत छ । यस्तै, प्रभू इन्स्योरेन्सको ४८.८३ प्रतिशत, सलिकोको ४७ प्रतिशत, हिमालयन एभरेष्टको ४५.२ प्रतिशत र आइजीआई प्रुडेन्सियलको ४३.३१ प्रतिशत नाफा घटेको देखिन्छ ।

गत वर्षको तुलनामा गिरावट आएपनि सर्वाधिक नाफा भने सिद्धार्थ प्रिमियरले कमाएको छ । कम्पनीले ९ महिनामा ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । यो निर्जीवन बीमा कम्पनीमध्यकै उच्च हो । रकमको आधारमा दोस्रो स्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीले ३९ करोड ५६ लाख र तेस्रो स्थानमा रहेको नेकोले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ ।

कसले कति कमाए, कति गुमाए ?


प्रतिक्रिया दिनुहोस्