लगातार प्रगतिको बाटोमा नेको इन्स्योरेन्स : व्यापार दोहोरो अंकमा बढ्यो, नाफा कति ? « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

लगातार प्रगतिको बाटोमा नेको इन्स्योरेन्स : व्यापार दोहोरो अंकमा बढ्यो, नाफा कति ?



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले झन्डै ३७ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

९ महिनामा कम्पनीले ३६ करोड ९३ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको तुलनामा यो नाफा २.१६ प्रतिशत कमी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

तर, कम्पनीको व्यापार भने दोहोरो अंकमा वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले १ अर्ब ७ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १४.३८ प्रतिशत वृद्धि भएको छ ।

योसँगै समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब २२ करोड ७९ लाख ६२ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीले ७० करोड ९३ लाख २० हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । जबकि, गत आवको सोही अवधिमा भने यस्तो भुक्तानी ५६ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले कमिसन बापत २५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको तुलनामा १५.०५ प्रतिशत धेरै हो । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी भने २०.४६ प्रतिशत घटेर २५ करोड ५४ लाख रुपैयाँ कायम भएको छ ।

समग्रमा कम्पनीको कुल आम्दानी ७.०९ प्रतिशत वृद्धि भई १ अर्ब ७६ करोड १२ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको कुल खर्च पनि १२.२९ प्रतिशत वृद्धि भएको देखिन्छ । ९ महिनामा कम्पनीले १ अर्ब २३ करोड ३६ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको कुल लगानी पनि दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीको लगानी ११.०१ प्रतिशत बढेर ७ अर्ब २ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा आइपुग्दा कम्पनीले ६ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ लगानी गरेको थियो ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी २४.४७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २६७.४० रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ ।कम्पनीले विशेष जगेडा कोषमा २ अर्ब २० करोड ९४ लाख, महाविपत्ति कोषमा १५ करोड ६७ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्