‘कमाई घट्यो, खर्च बढ्यो’, कस्तो छ युनाईटेड अजोडको त्रैमासिक वित्तीय प्रदर्शनी ?

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको नाफा खुम्चिएको छ । कम्पनीको व्यापारसँगै नाफामा पनि गिरावट आएको हो ।
कम्पनीले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत वर्षको तेस्रो त्रैमास कम्पनीले २७ करोड ४२ लाख बढी खुद नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ५७.६५ प्रतिशत घटेको छ । हाल कम्पनीको खुद नाफा ११ करोड ६१ लाख रुपैयाँमा खुम्चिएको छ ।
कम्पनीको व्यापारमा पनि ८.१६ प्रतिशत गिरावट आएको छ । कम्पनीले ९ महिनामा ७२ कराड ४ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ । जबकि, गत आवको सोही अवधिमा भने ७८ करोड ४४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको कमिसन आम्दानी पनि १०.३३ प्रतिशत घटेर २० ९ लाख रुपैयाँ कायम भएको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ३१.४१ प्रतिशत गिरावट आएको छ । ९ महिनामा कम्पनीको यस्तो आम्दानी १७ करोड ६२ लाख रुपैयाँ कायम भएको छ ।
समग्रमा कम्पनीको आम्दानी नै दोहोरो अंकमा घटेको छ । कम्पनीको कुल आम्दानी १३.३१ प्रतिशत १ अर्ब १० करोड ८० लाख रुपैयाँ कायम भएको छ । तर, खर्च ८.५८ प्रतिशत वृद्धि भई ९४ करोड २१ लाख रुपैयाँ पुगेको छ । यसरी कम्पनीको आम्दानीमा गिरावट आउँदा नाफ प्रभावित बनेको हो । तर, खर्च बढेको छ, व्यापार घटेको छ । त्यसकारण नै कम्पनीको नाफा गत वर्षको तुलनामा आधा घटेको हो ।
समिक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी भने ३८.४२ प्रतिशत बढेर ४९ करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको लगानी पनि गिरावट आई ४ अर्ब ३० करोड ३६ लाख रुपैयाँ कायम भएको छ । जबकी, गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल लगानी ४ अर्ब ४४ करोड ३१ लाख बढी थियो ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड छ । कम्पनीले विशेष जगेडा कोषमा ९९ करोड र महाविपत्ति कोषमा ४ करोड ३६ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ७.३७ रुपैयाँ छ । जबकि, गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १७.४१ रुपैयाँ रहेको थियो । यता, प्रतिसेयर नेटवर्थ भने १८९.५९ रुपैयाँ रहेको छ ।