नीति, प्रविधि र लगानीमा फोकस ‘बीमा बहस’ : बीमा सुरक्षाको संस्कृति बनाउन नेतृत्व एकजुट « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

नीति, प्रविधि र लगानीमा फोकस ‘बीमा बहस’ : बीमा सुरक्षाको संस्कृति बनाउन नेतृत्व एकजुट



काठमाडौं । ‘बीमा व्यवसाय नाफा कमाउने माध्यम हो, तर जनताको सुरक्षा सुनिश्चित गर्ने सामाजिक दायित्व पनि हो’, नेपाल बिमा प्राधिकरणका उच्च पदस्थ अधिकारी, बीमाकर्मी, बीमा विज्ञ र आर्थिक पत्रकारहरुको उपस्थीतिमा आयोजित एक कार्यक्रममा यस्तो साझा धारण व्यक्त गरेका छन् ।

उनीहरूका अनुसार नेपालमा अझै पनि बीमालाई बचतको रूपमा लिने प्रवृत्तिमा परिवर्तन आवश्यक औल्याएका छन् । बीमा सुरक्षाको भरपर्दो माध्यमका रूपमा स्थापित हुनुपर्ने आवश्यकता झनै बढ्दो रहेको उनीहरुको निष्कर्ष छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल बीमा प्राधिकरणको सहकार्यमा आयोजित ‘बीमा सचेतना कार्यक्रम’ अन्तर्गतको ‘बीमा क्षेत्रको ‘बर्तमान अवस्था, चुनौती र अबको बाटो’ विषयक बहस कार्यक्रममा यस्तो बताइएको हो । कार्यक्रममा बीमा क्षेत्रका नीति निर्माता, संघका प्रतिनिधि र पूर्व व्यवस्थापकहरूले नीति, प्रविधि, लगानी र जनचेतनाका विविध पक्षमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेका हुन् ।

बहसमा सहभागी बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल, नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र वैदवार र पूर्व बीमा व्यवस्थापक रमेशकुमार भट्टराईबीच बीमा सुरक्षामुखी हुनुपर्ने, कर्पोरेट सुशासन बलियो पार्नुपर्ने, दाबी भुक्तानी प्रभावकारी बनाउने, र जनताको धारणा परिवर्तन गर्न निरन्तर प्रयास आवश्यक छ भन्ने विषयमा विशेष सहमति देखिएको थियो ।

निर्देशक निर्मल अधिकारीले प्राधिकरणले नीतिगत त्रुटि हुन नदिनेगरी काम गरिरहेको बताए । ‘बीमाले हरेक क्षेत्रमा जोखिम लिएको छ’, उनले भने,‘अन्तर्राष्ट्रिय मान्यता पछ्याउँदै कर्पोरेट गभर्नेन्समा प्राधिकरणको फोकस छ ।’ उनका अनुसार नेपालमा बीमालाई अझै पनि बचतको विकल्पका रूपमा बुझिने प्रवृत्ति रहेकोले बीमा सुरक्षाको लागि हो भन्ने स्पष्ट सन्देश प्रवाह गरिनुपर्नेछ ।

सोही अवसरमा जीवन बीमक संघका अध्यक्ष पौडेलले नेपालमा मल्टी करेन्सी बीमा प्रडक्टको खाँचो रहेको बताए । व्यवसाय बिस्तार भए पनि पुँजीको तुलनामा नाफा कम हुनु र गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार गुणस्तरीय बीमा व्यवसाय आवश्यक छ, र अहिलेको कर्पोरेट गभर्नेन्स पहिलेको भन्दा राम्रो हुँदै गएको छ ।

साथै पत्रकारहरूले बीमा नाफासँगै संस्थागत सुशासनको पक्षलाई पनि उजागर गर्नु आवश्यक रहेको उनको सुझाव थियो । डिजिटल प्रविधिको प्रयोगसम्बन्धी टिप्पणी गर्दै उनले भने, ‘प्रविधिको प्रयोग बढ्दो छ, तर बीमा क्षेत्रमा व्यवहारिक प्रयोग बढ्न अझै समय लाग्छ ।’

त्यस्तै, विरेन्द्र वैदवारले “बीमा गर्नु वेस्ट अफ मनी” भन्ने गलत धारणा चिर्न पत्रकार, बीमाकर्मी र बीमा कम्पनी सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनले युवालाई बीमातर्फ आकर्षित गर्ने रणनीति अघि सार्नुपर्ने धारणा राखे । उनले भने,‘बीमा कम्पनीले नाफा हेरेर सुरक्षित क्षेत्रमा लगानी गर्छन् । लगानीबाट हुने आम्दानीबाटै बढी रिटर्न लिने हो।’ उनको भनाइमा बीमा सुरक्षाको अभिन्न अंग हो, र युवाहरूको आकर्षण न्यून भएकाले तिनलाई प्रोत्साहित गर्न विशेष पहल आवश्यक छ ।

यता, पूर्व व्यवस्थापक रमेशकुमार भट्टराईले भने, ‘बीमा कम्पनी समाज सेवा गर्न होइन, नाफा गर्न आएका हुन्। त्यसैले उनीहरूले जोखिम मूल्यांकन र दिगोपनाका पक्षमा गम्भीर हुनुपर्छ ।’ उनले प्राधिकरणले अझ सक्रिय र परिणाममुखी ढंगले अगाडि बढ्नुपर्ने बताए ।

बीमा कम्पनीहरूले लगानी निर्णय गर्दा सम्भावित जोखिमको आँकलन गर्न ढिला गर्न नहुने चेतावनी दिए । उनले भने,‘प्राधिकरण जति अगाडि बढ्नु पर्ने थियो, त्यो अनुसार बढ्न सकेन । अब थप सक्रिय हुन आवश्यक छ ।’ बीमा कम्पनीले जोखिमको आँकलन गरी लगानी गर्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । बीमा कम्पनीमा ठूला जोखिम बहन गर्ने क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्राधिकरणमा उच्च तहको सुशासन पनि कायम गर्नुपर्ने उनको ठम्याइ थियो ।

कार्यक्रममा बीमा समितिका उप निर्देशकद्दय केशवप्रसाद दाहाल र निशा घिमिरेले ‘बीमा प्रडक्ट र तीनका जटिलता’का बिषयमा प्रस्तुतीकरण दिएका थिए । यसै गरि प्राधिकरणका उप निर्देशक राम कोजुले ‘बीमामा प्रविधिको प्रयोग र रणनीति’ र प्राधिकरणकै उपनिर्देशक विरोध वाग्लेले ‘बीमा कम्पनीको लगानी विविधीकरण’ सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा बीमासम्बन्धी नीति, रणनीति, प्रविधि र व्यवहारका विविध पक्षहरूमा गम्भीर र अर्थपूर्ण बहस भएको थियो, जसले बीमा क्षेत्रको भविष्यको दिशालाई अझ स्पष्ट बनाउने विश्वास लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्