निर्जीवन बीमा व्यवसायमा कम्पनीहरूबिच कडा प्रतिस्पर्धा, शिखर एक नम्बर बन्दा कसको प्रिमियम कति ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

निर्जीवन बीमा व्यवसायमा कम्पनीहरूबिच कडा प्रतिस्पर्धा, शिखर एक नम्बर बन्दा कसको प्रिमियम कति ?



काठमाडौं । निर्जीवन बीमा व्यवसाय वृद्धिदर साढे प्रतिशत छ । व्यवसाय विस्तारमा कम्पनीहरू आक्रामक ढङ्गले अघि बढिरहेका छन् ।

ठुला निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको आकार ३९ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

११ महिनामा १४ कम्पनीले ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ७.४४ प्रतिशत धेरै हो । जबकि, गत आवको ११ महिनामा कम्पनीहरूले ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चालु आवको ११ महिनामा कम्पनीहरूले २५ लाख ८७ हजार ३१५ वटा बीमालेख जारी गरेका छन् ।

अधिकांश कम्पनीले व्यवसाय बढाएका छन् । तर, समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीको व्यवसाय भने घटेको छ । यी दुई कम्पनीको बीमा शुल्क आर्जन क्रमशः १४.१३ प्रतिशत र ४.१ प्रतिशत घटेको छ । यी बाहेक सबै कम्पनीको व्यापार बढेको छ ।

समीक्षा अवधिमा सम्पत्ति र मोटर बीमा व्यवसाय बढेको देखिन्छ । कुल व्यवसायमा नै ठुलो हिस्सा रहेको सम्पत्ति र मोटर बीमाको बढोत्तरीले नै समग्र व्यापार बढेको हो । समीक्षा अवधिमा सम्पत्ति बीमा व्यवसाय १०.८० प्रतिशत, मोटर बीमा ७.१९ प्रतिशत । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १०.८३ प्रतिशत वृद्धि भएको छ ।

शिखरलाई पछ्याउँदै सलिको 

निर्जीवन बीमा व्यवसायमा शिखर इन्स्योरेन्सकै वर्चस्व देखिएको छ । सर्वाधिक व्यापार गर्नेको पहिलो सूचीमा शिखर नै छ ।

कम्पनीले ११ महिनामै व्यवसायको आकार ५ अर्ब माथि पुर्‍याएको छ । समीक्षा अवधिमा कम्पनीको व्यवसाय ३.६७ प्रतिशत बढेर ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले सो अवधिमा २ लाख ७५ हजार ३५४ वटा बीमालेख जारी गरेको छ ।

व्यवसायको आकारमा दोस्रो सूचीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) छ । सलिकोले आफ्नो व्यापार ४.८९ प्रतिशत बढाएर ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीले २ लाख ५४ हजार ४५४ वटा बीमालेख जारी गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको व्यापार ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँ बराबरको थियो ।

व्यवसायमा कम्पनीहरू बिच निकै प्रतिस्पर्धा देखिन्छ । सलिकोले शिखरलाई पच्छ्याइरहेको छ । दोस्रो पोजिशनका लागि सिद्धार्थ प्रिमियर, हिमालयन एभरेस्ट र आइजीआईबीच कडा उछिनपाछिन देखिन्छ ।

प्राधिकरणका अनुसार तेस्रो सूचीमा रहेको सिद्धार्थ प्रिमियरले ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा ६.५४ प्रतिशत धेरै हो । कम्पनीले ११ महिनामा २ लाख ७३ हजार ४९४ वटा बीमालेख जारी गरेको छ ।

यता, हिमालयन एभरेस्टको व्यापार पनि ८.६१ प्रतिशत बढेर ३ अर्ब ५१ करोड ४५ लाख र आइजीआई प्रुडेन्सियलको ५.६१ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।

व्यवसाय वृद्धिदरमा भने ओरियण्टल इन्स्योरेन्स शीर्ष सूचीमा छ । कम्पनीको व्यापार ३८.१८ प्रतिशत बढेर २ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ कायम भएको छ । दोस्रो सूचीमा रहेको नेपाल इन्स्योरेन्सले पनि व्यवसायको आकार ३१.५२ प्रतिशत बढाएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो सूचीमा रहेको एनएलजी इन्स्योरेन्सले पनि २१.३३ प्रतिशत बढाएर २ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ पु¥याएको छ ।

यता, सानिमा जिआईसीको व्यापार पनि ६.४७ प्रतिशत, नेकोको २.५९ प्रतिशत, युनाईटेड अजोडको १.३२ प्रतिशत र प्रभु इन्स्योरेन्सको झिनो ०.९४ प्रतिशत वृद्धि भएको छ ।

कसले कति कलेक्सन गरे प्रिमियम ?

स्रोतः नेपाल बीमा प्राधिकरण (रकम लाखमा)


प्रतिक्रिया दिनुहोस्