रसुवाको बाढीले बीमा कम्पनीमा ८४ करोड ३८ लाख दावी: हिमालयन एभरेष्टमा उच्च, कुनमा कति पर्यो ?
काठमाडौं । रसुवामा अविरल वर्षा तथा बाढी पहिरोको क्षति उपर बीमा कम्पनीहरुमा झन्डै ८४ करोड रुपैयाँ बराबरको दावी पेश भएको छ ।
गत असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढी पहिरो व्यापाक मात्रामा क्षति पुर्याएको थियो । बाढीले धेरै घर, गाडी, पसल लगायतका अन्य भौतिक संरचनाहरु बगाएको थियो । सोही बाढी पहिरोको क्षतिबाट बीमा कम्पनीहरुको ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको ६८ वटा दावी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार यो तथ्याङ्क गत साउन ८ गतेसम्मको प्रारम्भिक विवरण हो । बाढी पहिरोबाट सबैभन्दा ठुलो क्षति सवारी साधानमा परेको थियो ।
सार्वजनिक तथा निजी गरि कुल ५२ वटा बीमा बीमालेखमा दावी परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ३८ वटा सार्वजनिक र १४ वटा निजी मोटर रहेका छन् । सार्वजनिक तर्फ २ करोड ५९ लाख ५० हजार र निजी मोटर बीमा अन्तर्गत २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको दाबी पेश भएको छ ।
ठुलो आकारको दावी भने सम्पत्ति बीमा अन्तर्गत देखिन्छ । तथ्याङ्क अनुसार ५८ करोड १ लाख रुपैयाँ बराबरको ६ वटा दाबी सम्पत्ति बीमालेखमा परेको छ । यस्तै, सामुन्द्रिक बीमामा १६ करोड २३ लाख १० हजार, इन्जिनियरिङ ठेकेदार जोखिम अन्तर्गत ५ करोड ४० लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।
कुन कम्पनीमा कति दावी पेश ?
प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा ठुलो दावी पेश भएको छ । कम्पनीमा ५५ करोड रुपैयाँ बराबरको दावी पेश भएको छ । यो कुल दावीको ६५.१८ प्रतिशत हुन आउँछ ।
यस्तै, शिखरमा १६ करोड ८५ लाख १० जहार, नेकोमा ५ करोड १२ लाख, सगरमाथा लुम्बिनीमा २ करोड ६५ लाख, नेपाल इन्स्योरेन्समा १ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको दावी पेश भएको छ ।
यस्तै, युनाईटेड अजोडमा ९१ लाख, आइजीआई प्रुडेन्सियलमा ७५ लाख ५० हजार, सानिमा जिआइसीमा ७५ लाख, एनएलजीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभू इन्स्योरेन्समा २८ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।
















