म्याद सकिएको दुई वर्ष नाघ्यो : अझै न्युनतम पुँजी नपुगेका बीमा कम्पनीहरू कुन-कुन हुन् ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

म्याद सकिएको दुई वर्ष नाघ्यो : अझै न्युनतम पुँजी नपुगेका बीमा कम्पनीहरू कुन-कुन हुन् ?



काठमाडौं । अझै पनि आधा दर्जन बीमा कम्पनीहरु नियामकले तोकेको न्युनतम पुँजी सीमा पुर्याउन सकिरहेका छैनन् ।

नेपाल बीमा प्राधिकरणद्वारा निर्धारित न्यूनतम चुक्ता पुँजी पुर्याउन दिएको समयावधि सकिएको पनि दुई वर्ष नाघि सकेको छ ।

तर, हालसम्म पनि दुई जीवन बीमा र पाँच निर्जीवन बीमा कम्पनीले पुँजी पुर्याउन नसकेका हुन् । यता, दुई पुनर्बीमा कम्पनी र केही लघुबीमा कम्पनीले पनि पुँजी जुटाउन नसकेको देखिन्छ ।

बीमा कम्पनीहरुलाई वित्तीय स्थायित्व र प्रतिस्पर्धी क्षमता बढाउन प्राधिकरणले २०७८ चैतमै जीवन बीमाका लागि ५ अर्ब र निर्जीवनका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । तोकिएको पुँजी पुर्याउन नसकेका सात बीमा कम्पनी अझै अलमलमा छन् ।

हाल जीवन र निर्जीवन गरि १४–१४ वटा ठुला बीमा कम्पनी संचालनमा छन् । ७ वटा र दुई पुनर्बीमा कम्पनी संचालनमा छन् ।
तोकिएको म्याद २०७९ चैतमै समाप्त भएको छ । तर, २०८२ असार मसान्तसम्म आइपुग्दा केही कम्पनी पुँजी वृद्धि योजनाको सुरुवाती चरणमै छन् ।

हालसालै मात्र प्राधिकरणले तोकिएको पुँजी पुर्याउन नसकेका कम्पनीहरुको सूची नै सार्वजनिक गरेको छ । हाल जीवन बीमा तर्फ एशियन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले पुँजी पुर्याउन नसकेका हुन् । यता, निर्जीवन बीमातर्फ भने नेपाल इन्स्योरेन्स, युनाईटेड अजोड, प्रभू इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स रहेका छन् ।

यता, दुई पुनर्बीमा कम्पनीहरुले पनि पुँजी पुर्याउन सकिरहेका छैनन् । लघुबीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले पुँजी नपुर्याएका हुन् ।

यी कम्पनीहरुमध्ये कतिले हकप्रद निष्काशन र बोनस सेयर वितरणमार्फत पुँजी पुर्याउने प्रयास थालेका छन् भने केहीले अझै योजना सार्वजनिक गर्न सकेका छैनन् । तर, नियामकको स्पष्ट निर्देशन र पटक–पटकको चेतावनीका बाबजुद पनि पुँजी अपुग रहेका कम्पनीहरुलाई कारबाही भने गरिएको छैन ।

स्रोतः नेपाल बीमा प्राधिकरण

प्राधिकरणका अनुसार हाल एशियन लाइफ र नेपाल इन्स्योरेन्स पुँजी पु¥याउने अन्तिम चरणमा छन् । एशियनले बोनस र ४२ प्रतिशत हकप्रद निष्काशनमार्फत पुँजी ५ अर्ब नाघ्ने सुनिश्चितता जनाइसकेको छ । नेपाल इन्स्योरेन्सले पनि ३८.७८३ प्रतिशत हकप्रद बिक्रीपछि २ अर्ब ५४ करोड पुँजी पुग्नेछ । हाल एशियन लाइफको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको१ अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ ।

अन्य कम्पनीहरू पनि पूँजी वृद्धि योजनामा अघि बढिरहेका छन् । युनाइटेड अजोडले बोनस र हकप्रद मिलाएर पुँजी २ अर्ब ५४ करोड बनाउने तयारी गरिरहेको छ । हाल कम्पनीको यस्तो पुँजी २ अर्ब १० करोड रुपैयाँ छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

यता, प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस र ४७ प्रतिशत हकप्रद मार्फत २ अर्ब ९५ करोड पूँजी पु¥याउने योजना सार्वजनिक गरिसकेको छ । हाल प्रभूको चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

यस्तै, सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी पनि बोनस सेयर वितरण र हकप्रद सेयर मार्फत पुँजी पुर्याउने योजना अघि सारेको छ । कम्पनीले ७.५ प्रतिशत बोनस वितरणपछि १७ प्रतिशत हकप्रदको तयारीमा छ । योजना अनुसार हकप्रद निष्काशनपछि कम्पनीको पुँजी २ अर्ब ५१ करोड पुग्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ ।

दुई सरकारी स्वामित्वका बीमा कम्पनीहरूको अवस्था भने अझै जटिल छ । राष्ट्रिय जीवन बीमा कम्पनीले १८ करोड पूँजीबाट एकै पटक ५ अर्ब पुर्याउने लक्ष्यसहित संस्थापक लगानी र आईपीओको मोडल अघि सारेको छ । तर, कार्यान्वयनको चरणमा पुग्न नै बाँकी छ ।

यता, राष्ट्रिय बीमा कम्पनीले भने अर्थ मन्त्रालयसँग बोनस र हकप्रदको मोडलमा छलफल गरिरहेको जनाएको छ । तर, अहिलेसम्म ठोस निर्णय सार्वजनिक गरिएको छैन । हाल राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि पनि न्युनतम चुक्ता पुँजी २० अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । तर, हाल संचालनमा रहेको दुई पुनर्बीमा कम्पनीको पुँजी पनि पुगेको छैन् । सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी हाल १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ । यता, हिमालयन रिइन्स्योरेन्स कम्पनीको १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ ।


यता, लघुबीमा कम्पनीहरुका लागि भने प्राधिकरणले न्युनतम चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको छ । हाल ७ लघुबीमा कम्पनीहरु संचालनमा छन् । यीमध्ये नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रा लाइफ, क्रेष्ट माइक्रो लाइफले मात्रै तोकिएको पुँजी पुर्याएका छन् । यी बाहेकका लघुबीमा कम्पनीको पुँजी अपुग छ ।

हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ, स्टार माइक्रो, ट्रष्ट माइक्रो इन्स्योरेन्सको चुक्ता पुँजी समान ५२ करोड ५० लाख रुपैयाँ छ । यी कम्पीहरुले पनि अपुग पुँजी आइपीओ बिक्री मार्फत पुर्याउने योजना अघि सारेका छन् ।


प्रतिक्रिया दिनुहोस्