बाढी पहिरोका कारण बीमा कम्पनीमा दावीको चाप, हिमालयन एभरेष्टमा मात्रै ५६%, कुनमा कति पर्यो ?
काठमाडौं । बाढी तथा पहिरोबाट उत्पन्न क्षति उपर बीमा कम्पनीहरुमा दावी पर्ने क्रम बढ्दो छ । गत असार २३ गते रसुवामा आएको बाढी तथा पहिरोको क्षतिबाट बीमा कम्पनीहरुमा झन्डै अर्ब हाराहारीको दावी पेश भएका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार बाढी तथा पहिरोको क्षति उपर ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको ७८ वटा दावी पेश भएका हुन् । रसुवामा आएको बाढीका कारण धेरै घर, गाडी, पसल लगायतका अन्य भौतिक संरचनाहरु ठुलो क्षति पुगेको थियो ।
सोही क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा दावीको चाप बढ्दो छ । साउन २२ गतेको प्रारम्भिक विवरण अनुसार ६१ करोड ४७ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमालेख, २२ करोड बराबरको सामुन्द्रिक बीमा ५ करोड ९५ लाख बराबरको इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा, निजी मोटर बीमा तर्फ ५ करोड ५८ लाख र सार्वजनिक मोटर बीमा तर्फ ३ करोड ५५ लाख ५२ हजार रुपैयाँ बराबरको दावी पेश भएका छन् ।
कुल दावीमा हिमालयन एभरेष्टको हिस्सा मात्रै ५५.७८ प्रतिशत, कुनमा कति पर्यो ?
रसुवामा गएको बाढी, पहिरोको क्षति उपर ११ वटा निर्जीवन बीमा कम्पनीमा दावी पेश भएको छ । कुल दावीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा भन्दा बढी चाप देखिएको छ । हिमालयन एभरेष्टमा ५५ करोड रुपैयाँ बराबरको दावी पेश भएको प्रारम्भिक विवरण छ । यो कुल दावी पेशको ५५.७८ प्रतिशत हुन आउँछ ।
यस्तै, शिखरमा १६ कारेड ९६ लाख ३० हजार रुपैयाँ बराबरको १५ वटा, नेपाल इन्स्योरेन्समा ८ करोड ७३ लाख बराबरको १६ वटा दावी पेश भएका छन् ।
प्राधिकरणका अनुसार सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजार बराबरको ६ वटा, नेकोमा ५ करोड ६७ लाख बराबरको ५ वटा, सगरमाथा लुम्बिनीमा २ करोड ६५ लाख बराबरको २ वटा दावी पेश एका छन् ।
त्यसैगरि युनाईटेड अजोडमा ९१ लाख बराबरको ३ वटा, आइजीआई प्रुडेन्सियलमा ७६ लाख ७० हजार बराबरको १० वटा, एनएलजीमा ४७ लाख बराबरको ६ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख बराबरको ७ वटा र प्रभू इन्स्योरेन्समा २८ लाख बराबरको ६ वटा बीमा दावी पेश भएको छ ।
















