शिखर इन्स्योरेन्सद्वारा ६ अर्ब कुल बीमा शुल्क संकलन « Arthapath.com
१८ असार २०८३, बिहिबार

शिखर इन्स्योरेन्सद्वारा ६ अर्ब कुल बीमा शुल्क संकलन



काठमाडाैं । नेपालको निर्जीवन बीमा बजारमा अग्रणी स्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।

कम्पनीले यो व्यवसायिक उपलब्धी हासिल गरेसँगै नेपाली निर्जीवन बीमा उद्योगमा नयाँ कोशेढुङ्गा पार गरेको दाबी गरेको छ।

यस उपलब्धीले नेपालको बीमा क्षेत्रको दायरा विस्तार गर्न, बीमाको आयाम फराकिलो बनाउन तथा राष्ट्रको आर्थिक जोखिम व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेकाे छ।

स्थापनाकालदेखि नै बीमाको पहुँच विस्तार, नवीन बीमालेखहरुको विकास तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको शिखर इन्स्योरेन्सले हाल देशभरका ७३ जिल्लामा फैलिएको १३१ कार्यालय सञ्जाल मार्फत बीमा सेवाको पहुँच विस्तार गर्दै बीमा पहुँच वृद्धि तथा वित्तीय समावेशीकरणमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ।

कम्पनीको सफलता पछाडि यसको सुदृढ वित्तीय आधार, सक्षम व्यवस्थापन, व्यावसायिक जनशक्ति, उच्चस्तरीय पुनर्बीमा व्यवस्था, छिटो तथा पारदर्शी दाबी भुक्तानी प्रणाली, प्रविधिमैत्री सेवा तथा ग्राहक केन्द्रित कार्यसंस्कृति, संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यवस्थापन अभ्यासहरू प्रमुख आधारका रूपमा रहेका छन् ।

यसैबीच, कम्पनीले विश्वास गर्ने ग्राहक, अभिकर्ता, सर्भेयर, पुनर्बीमक, शेयरधनी, नियामक निकाय, बैंक तथा वित्तीय संस्थाहरू, कर्मचारी र सम्पूर्ण सरोकारवालाहरूमा कृतज्ञता ज्ञापन गरेको छ। आगामी दिनहरूमा पनि नवीनता, उत्कृष्ट सेवा, सुशासन तथा व्यावसायिक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपालको बीमा क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्