मैले जिते टानलाई गर्व गर्न लायक संस्था बनाउँछु « Arthapath.com
१९ भाद्र २०७६, बिहीबार

मैले जिते टानलाई गर्व गर्न लायक संस्था बनाउँछु



अञ्जन थापा कुमार, अध्यक्षका प्रत्याशी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)

यही भदौ २० गते ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको ४१औँ वार्षिक साधारणसभा हुँदै छ । यही सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला ट्रेकिङ व्यवसायी चुनावी चटारोमा छन् । टानमा प्रजातान्त्रिक र प्रगतिशील वाम घटकको दुई प्यानल निर्वाचनमा होमिएका छन् । १७ सदस्यीय कार्यसमितिलाई १३ सय २० मतदाताले मत दिएर नयाँ नेतृत्व चयन गर्नेछन् । यसै चुनावी अभियानमा होमिएका युवा पर्यटन व्यवसायी अञ्जन थापा (कुमार)ले वामपन्थी समूहको नेतृत्व गर्दै छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खहरेमा जन्मिएका थापा पोटर, गाइड बन्दै व्यवसायी बनेका हुन् । नम्र स्वभावका थापा आशाही ट्रेक्स एण्ड एक्पिडिसन प्रालिका सञ्चालक हुन् । होटेल र ट्रेकिङ व्यवसायमा लागेका थापा सबै व्यवसायीले आफूलाई मत दिने बताउँछन् । सन् २००० देखि पर्यटन व्यवसायमा लागेका थापा सफल व्यवसायी हुन् । टानमा विगतमा पनि एक कार्यकाल कोषाध्यक्ष भइसकेका उनै थापासँग गरिएको कुराकानीको सारसङ्क्षेप ः–


टान अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
म सन् २००० देखि नै पर्यटन क्षेत्रमा लागेको मान्छे । विगतमा पनि टानको एक कार्यकाल कोषाध्यक्ष भएर नेतृत्व गरिसकेको छु । सोही समयमा टानको कोष थप व्यवस्थित बनाउन मैले खोलेको भूमिकाका कारणले टानमा अध्यक्ष भएर नेतृत्व गर्न गइरहेको छु । अघिल्लो कार्यकालमा रहँदा मैले खेलेको भूमिकाले पनि साथीहरूको आग्रहमा नेतृत्वका लागि अघि सरेको हुँ ।


विगतमा कोषाध्यक्ष हुँदा के राम्रो काम गर्नुभयो ?
त्यतिबेला हामीले १० वटा ट्रेकिङ ट्रायल विकास गरेका थियौँ । पाँचदेखि २० दिनका ट्रेकिङ ट्रायलहरू बनाउन धेरै मिहिनेत गरेका थियौँ । विगतको कार्यकालमा मैले गरेका महत्वपूर्ण कामहरूको कारण पनि मलाई चुनाव जित्न गाह्रो छैन ।


तपाईंलाई नै मतदाताले किन मत दिने ?
यो कुरा व्यवसायी मित्रहरूले नै जर्ज गर्ने कुरा हो मैले यसो उसो भन्नुभन्दा पनि । म सदस्य हुँदै अध्यक्ष बन्नुपर्छ भन्ने मान्यता राख्दिनँ । मेरा प्रतिस्पर्धी सदस्य हुँदै अहिले वरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा प्रमोसन खाने दाउमा हुनुहुन्छ । संस्थामा लिडरसिपले ठाउँ छोड्दै जाने हो । अरूलाई पनि अवसर दिनुपर्छ । दुईवर्षे कार्यकाल हाम्रोलाई धेरै महत्वपूर्ण हो र यो अवधिमा जे–जति गर्न सकिन्छ व्यवसायलाई माथि उठाउन सकिन्छ ।


तपाईं निर्वाचित भएपछि के–के गर्नुहुन्छ ?
म धेरै काम गर्छु, पहिले प्रवद्र्धन गर्न नसकिएका ८–१० वटा ट्रेकिङ रुटहरू छन्, तिनलाई विदेशीसामु प्रचार गर्ने योजनामा छौँ । भर्खर आएका कम्पनीहरूले अहिले २५ लाख धरौटी राख्नुपर्ने भन्ने आएको छ, म त्यसलाई रोक्नुपर्छ भन्ने मान्यता राख्छु । पर्यटनमा केही नीतिगत समस्याहरू छन्, त्यसलाई चिर्नुपर्छ भन्ने मेरो मान्यता छ । मेरो कार्यकालमा टान अस्पताल खोल्ने योजना छ, त्यसलाई पूरा गर्नु छ । नेपाल पर्यटन बोर्ड र टानको ज्वाइन्टमा अस्पताल खुल्ने तयारी छ । आम सिनियर र नयाँ आउने व्यवसायी अटाउन सक्ने थलो टानलाई बनाउनुपर्छ ।


पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा टानको भूमिका के हुन्छ ?
नेपालको पर्यटन व्यवसायको मेरुदण्ड नै टान हो । किनकि यहाँ साना पर्यटन व्यवसायीदेखि सगरमाथा आरोहणसम्मको सम्पूर्ण काम टानअन्तर्गत हुन्छ । १ वर्षमा राज्यलाई सात अर्ब राजस्व उठ्ने गरेको छ । करिब ६० प्रतिशत पर्यटक पुरानै दोहोरिएर आउँछन् ।


तपाईं यसअघि कोषाध्यक्ष पनि भइसकेको मान्छे, टानमा जहिले पनि आर्थिक पारदर्शिताको विषय उठ्ने गर्छ किन ?
म कोषाध्यक्ष भएको समयमा टिम्स जोडिएर आयो । त्यसबेलासम्म टानमा खासै आर्थिक बजेट थिएन । टानमा मेरो कार्यकालकै बेलामा टिम्सले वार्षिक ५–६ करोड फण्ड पाउने भयो । मैले छोड्ने बेलामा टानको खातामा २ करोड बचत छोडेर आएको थिएँ । त्यसपछिका टानका नेतृत्व बढी राजनीतिक भए । उनीहरूले आफ्नो राजनीतिक अभीष्ट टानबाटै गराउन थाले । त्यसपछि व्यावसायिक नम्सभन्दा बाहिर बजेट जान थाले । म एउटा विशुद्ध व्यवसायी पृष्ठभूमिबाट आएकाले टानका फण्डहरू कसरी चलाउने भन्ने मैले नजिकबाट बुझेको छु । म टानलाई गर्व गर्न लायक संस्था बनाउँछु ।


पर्यटन व्यवसायमा कसरी आउनुभयो ?
०५१ सालमा एसएलसी पास गरेपछि ०५२ मा रत्नराज्यलक्ष्मी क्याम्पसमा आईए पत्रकारिता विषय लिएर पढेँ । पत्रकारिताले पेट पाल्न गाह्रो देखेपछि मलाई साथीहरूले झोला बोकाएर पोटर बनाएर ट्रेकिङमा लैजानुभयो । अङ्ग्रेजी जान्ने भएपछि म गाइड भएँ । सन् २००० मा आफैँले कम्पनी दर्ता गरेर व्यवसायमा लागेँ । बिस्तारै व्यावसायिक क्षेत्रमा जम्दै आएँ ।


तपाईंको जित कसरी सुनिश्चित भयो ?
टानले नेतृत्वमा नयाँ चेन्ज खोजिरहेको छ । विगतको कार्यसमितिले राम्रो गर्न नसकेकाले नै मेरो विजय हुन्छ भन्ने लागेको छ । अहिले मसँग प्रतिस्पर्धा गर्ने साथी टानको अहिलेको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँको टिमले गर्न नसकेका कामको मूल्याङ्कनका हिसाबले पनि मलाई सदस्यहरूले जिताउँछन् भन्ने लागेको छ । आफू वरिष्ठ उपाध्यक्ष हुँदा सिन्को नभाँच्नेले अध्यक्ष भएर काम गर्छुभन्दा पत्याउने कुरै छैन । आमव्यवसायी नयाँ युवा नेतृत्व चाहिन्छ भनिरहेका छन् । नयाँ र पुराना दुवै व्यवसायीहरूले मलाई मत दिन्छन् भन्ने लागेको छ ।


प्रतिक्रिया दिनुहोस्