डिजिटल स्टार्टअपको इकोसिस्टम विकास गर्न आवश्यक « Arthapath.com
१८ श्रावण २०७७, आईतवार

डिजिटल स्टार्टअपको इकोसिस्टम विकास गर्न आवश्यक



काठमाडौं । पछिल्लो समय नेपालमा केही नयाँ सोच र आइडिया सहित काम गर्ने युवाहरू बढिरहेका छन् ।

सिलिकन भ्याली, बैङ्लोरमा दशकौंअघि शुरू भएको स्टार्टअप कल्चर नेपालमा शुरुवाती अवस्थामा नै छ ।


यकिन तथ्यांक नभए पनि नेपालमा विगत १० वर्षमा हजार बढी स्टार्टअपहरू जन्मिएका छन् । तर, धेरै स्टार्टअपहरू विभिन्न समस्या, लगानीको अभाव र सरकारी असहयोगका कारण पनि विलीन भएको अवस्था छ ।

आइडियादेखि उद्यमीसम्मको यात्रामा आउने थुप्रै समस्या र चुनौतीका बाबजुद नेपालमा केहिले उदाहरणीय सफलता पनि हासिल गरेका छन् ।

शनिवार डिजिटल संवाद नामक भर्चुअल डिजिटल संवाद कार्यक्रममा वक्ताहरूले डिजिटल स्टार्टअपको इकोसिस्टमको विकासमा सबै लाग्नुपर्ने बताए । नेपालमा स्टार्टअप सम्बन्धी सरकारको पोलिसी, योजना र प्रभावकारी कामको कमीले पनि उद्यमशीलताको विकास हुन नसकेको विज्ञहरूले औंल्याएका छन् ।

डिजिटल नेपालको अभियान शुरू हुँदै गर्दा डिजिटल स्टार्टअपको आवश्यकता र यसको प्रवद्र्धनमा सरकारले काम गर्न सकेमात्र विकास दिगो हुन सक्ने पूर्वमन्त्री गणेश शाहले बताए । लगानीको मुख्य समस्या रहेको भन्दै शाहले बैंकहरू पनि स्टार्टअपमैत्री नभएको गुनासो व्यक्त गरे ।


यसैगरी पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारले इन्नोभेसन र प्रविधिलाई अझै बुझ्न नसकेकोमा गुनासो व्यक्त गरे । देश विकासको सपना देख्ने हो भने उद्यमशीलताको विकास र डिजिटल प्रविधिको प्रवद्र्धनमा सरकारले लगानी गर्नुपर्ने जोशीको भनाइ थियो ।

योजना आयोगका सदस्य डा. रामकुमार फुयालले पछिल्लो समय सरकारले विभिन्न योजना र पोलिसी निर्माण गर्दै उद्यमशीलतालाई केन्द्रदेखि स्थानीय निकायसम्म जोडिरहेको बताए ।

१५औं आवधिक योजनादेखि १९औं आवधिक योजनासम्म विभिन्न कार्यक्रम र रणनीतिमार्फत देशमा उद्यमशीलताको विकास गरेर समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्ने फुयालले बताए ।

हजारौं स्टार्टअपहरूलाई २ प्रतिशतमा सहुलियतपूर्ण ऋण व्यवस्था गर्दै इकोसिस्टमको विकासमा योजना आयोगले प्राथमिकताको साथ काम गरिरहेको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्