नमूना परीक्षणको झन्झटले प्रभावित चिया निर्यात, ६ ट्रक सीमामै रोकिए
काठमाण्डौ। भारततर्फ निर्यात हुने नेपाली चिया पुनः समस्यामा परेको छ। भारतीय निकायले चियाको प्रत्येक खेपमा नमुना परीक्षणलाई निरन्तरता दिएपछि निर्यात प्रक्रिया सुस्त बनेको हो।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार करिब एक सातादेखि नेपाली चिया भारत पठाउन कठिनाइ भइरहेको छ। हाल विभिन्न कम्पनीका चिया बोकेका ६ वटा ट्रक काँकडभिट्टा नाकामा रोकिएको जानकारी उनले दिएका छन्।
यसअघि भारतीय पक्षले केही समय नेपाली चिया आयातमा रोक लगाएको थियो। पछि जारी गरिएको सूचनामार्फत भारतभित्र उपभोगका लागि जाने चियामा प्रत्येक खेपको परीक्षण आवश्यक नपर्ने उल्लेख गरिए पनि व्यवहारमा भने सो व्यवस्था लागू नभएको व्यवसायीहरूको भनाइ छ।
निर्यातकर्ताहरूका अनुसार भारतीय अधिकारीहरूले अझै पनि प्रत्येक ट्रकको नमुना परीक्षण गरिरहेका छन्। यसका कारण ढुवानीमा ढिलाइ हुनुका साथै व्यवसायीले अतिरिक्त खर्च समेत व्यहोर्नुपरेको छ।
चिया उद्योगसँग आबद्ध व्यवसायीहरूले परीक्षण प्रक्रियालाई सहज नबनाइए नेपाली चियाको निर्यात व्यापार थप प्रभावित हुने बताएका छन्। उनीहरूका अनुसार सीमामा हुने ढिलासुस्तीले उत्पादकदेखि निर्यातकर्तासम्म सम्पूर्ण क्षेत्रमा असर पार्ने जोखिम बढेको छ।
















