गुणस्तरीय प्रिकास्ट कंक्रिटमा नेपाल आत्मनिर्भर,यस्तो छ प्रिकास्ट कंक्रिटको बजार मूल्य

काठमाडौं । घर, रिसोर्ट, रेष्टुरेष्ट, विमानस्थल, सडक, फुटपाथ तथा भुईमा लगायतको सजावटमा प्रयोग हुने प्रिकास्ट कंक्रिट प्रोडक्टको राजधानीमा प्राविधिक कार्यशाला सम्पन्न भएको छ ।
राजधानीको एभरेष्ट होटलमा भएको कार्यशालामा प्रिकास्ट कंक्रिटबाट निर्माण हुने इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, टेक्टायल लगायतका दुई दर्जन प्रकारका निर्माण सामग्रीको टेक्निकल तथा अन्य विविध पक्षको बारेमा जानकारी दिने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरिएको हो । कार्यशाला तीन दिनसम्म सञ्चालन भएको थियो ।

सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पद्मकुमार मैनालीले गुणस्तरीय प्रिकास्टबाट निर्माण हुने निर्माण सामग्रीको बजार विस्तार हुदैं गएको बताए । ‘युरोप, अमेरिकी मुलुकमा धेरै वर्षदेखि प्रयोग हुदैैं आए पनि नेपाली बजारमा भर्खरै प्रयोग बढ्दैं गइरहेको छ,’ उनले भने, ‘नेपालका प्रिकास्टका उत्पादक कम्पनीले गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता नगरीकनै उत्पादन गर्नुपर्ने बेला भइसकेको छ ।’

निमित्त महानिर्देशक मैनालीले गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड अनुसार प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कक्रिंट कर्ब, एज (किनारा) गटर लगायतको उत्पादन गर्न निर्देशन दिएका छन् । ‘प्रिकास्ट कंक्रिट ब्लकले उद्योगकै रुपमा स्थापित हुनु निकै सकारात्मक कुरा हो,’ उनले भने, ‘सरकारले तथा निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा ठूलो लगानी गरिरहेको परिपेक्षमा यस्ता उद्योगको महत्व झनै बढ्दै गइरहेको छ ।’
एसियन कंक्रिटोका निर्देशक अनिल जेटियाले विगत तीन वर्षदेखि प्रिकास्ट कंक्रिटको उद्योग सञ्चालन गर्दै आएको बताए । ‘नेपालका प्रिकास्ट कंक्रिट उद्योगले युरोप, अमेरिकाका जस्तै गुणस्तरीय इन्टरलक पेभर्स, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, ड्रेनलगायतका सामग्री उत्पादन गर्दै आइरहेको छ,’ उनले भने, ‘पर्याप्त मात्रामा बजारीकरण नहुँदा उत्पादनले राम्रो बजार पाइरहेका छैनन् ।’ नेपालमा उत्पादन भएका प्रिकास्ट कंक्रिटका सामग्रीहरु पाँचतारे होटेल, रिसोर्ट, सडक, विमानस्थल, फुटपाथ, डिभाइडर (मिडियन) तथा भुईलगायतका सजावटको लागि प्रयोग हुदैं आइरहेका छन् ।
कार्यशालाको पहिलो दिन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुरका विभिन्न वडाका वडाध्यक्ष र इन्जिनियरहरुको सहभागिता रहेको थियो । त्यसैगरी कार्यशालाको दोस्रो दिन कीर्तिपुर नगरपालिका र महालक्ष्मी नगरपालिकका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र इन्जिनीयरहरुको सहभागिता थियो । कार्यशालको अन्तिम दिन सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक, ठिमी नगरपालिकाका वडाअध्यक्ष तथा इन्जिनियर, नेपाल नापतौल तथा गुणस्तर नियन्त्रण विभागका निर्देशक, सडक विभागका बरिष्ठ इन्जिनियर तथा इन्जिनियरहरु र काठमाडौं उपत्यकाका निर्माण व्यवसायीको सहभागिता रहेको थियो ।
यस्तो छ प्रिकास्ट कंक्रिटको बजार मूल्य
प्रिकास्ट कंक्रिट उत्पादन गर्दै आएका कम्पनीका अनुसार अहिले करिव दुई दर्जनभन्दा धेरै कंक्रिटका ब्लक, कर्बस्टोन, टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर, ड्रेनलगायतका सामग्री बजारमा उपलब्ध हुदैं आइरहेका छन् ।एसियन कंक्रिटोका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष श्यामल झाले राष्ट्रिय गौरवका आयोजनामा समेत कंक्रिटका कर्बस्टोन, पेभर, टायललगायतका निर्माण सामग्रीको माग बढ्दै आइरहेको बताए ।
नेपालमा उत्पादन हुने गुणस्तरीय कर्बस्ट्रोन एक किलोमिटर लाम्बाईमा प्रयोग गर्दा भ्याटबाहेक १२ लाख रुपैयाँ लाग्ने बताए । गुणस्तरीय इन्टरलक पेभरको एक किलोमिटर लम्बाई र दुई मिटर चौडाईका लागि २५.३० लाख रुपैयाँ पर्छ ।त्यसैगरी इन्टरलक एयरपोर्टका लागि १.५ चौडा र एक किलोमिटर लम्बाईको लागि २५.५० लाख रुपैयाँ भ्याटबाहेक खर्च लाग्नेछ । लक्जरी खालको इन्टरलक फुटपाथ निर्माण गर्दा भ्याटबाहेक प्रतिवर्गमिटरको लागि २५ सय ५३ लाग्ने उत्पादक कम्पनीले जनाएको छन् ।