भृकुटीमण्डपमा जुत्ता मेलाको प्रतिस्पर्धा, ग्राहकलाई फाईदै फाईदा « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

भृकुटीमण्डपमा जुत्ता मेलाको प्रतिस्पर्धा, ग्राहकलाई फाईदै फाईदा



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा छालाजुत्ता उत्पादक संघका नाममा एउटा र केही ब्राण्डहरु सम्मिलित जुत्ताचप्पल मेला चलिरहेका छन् । दशैंका अबसरमा मेला गरेको भनिए पनि यस्तो मेला नयाँ बर्ष लागेपछि साउनको एक महिनाबाहेक अविछिन्न रुपमा चलिरहेका छन् ।

मेला गर्ने नगर्ने भन्नेमा उत्पादकहरुबीच लामो समयदेखि विवाद छ । मेलाले सर्बसाधारण उपभोक्ता भने फाइदामा छन् । मेलाले जुत्ताचप्पलको च्यानल ब्रेक भएको छ । जुत्ताचप्पल उत्पादक र विक्रेताबीचकाले खाने कमिसन नलाग्दा उत्पादकले सिधै उपभोक्तालाई बेच्न पाएका छन् ।

त्यसले गर्दा उपभोक्ताले मेलामा विभिन्न ब्राण्डका छानीछानी सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन् । केही जुत्ताचप्पल उत्पादकले मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्दै आएका छन् । उनीहरु दुई महिना जुत्ता उत्पादन गर्छन् । अनि एक महिना मेलामा बस्छन् । जुत्ता मेला हुने स्थल भनेर भृकुटीमण्डपको सानो चौरको बाण्डिङ नै भइसकेको छ । थोरै नाफा हुँदा पनि उद्योगीहरु फाइदामा छन् । घाटा चाहिँ के भयो भने मेलामा बिकिहाल्छ भनेर जस्तो पनि जुत्ता चप्पल बनाउने उद्योगीहरु थपिएका छन् ।


शिखर सुजलगायतका जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैं विरोधमा उत्रियो । संघका तत्कालीन अध्यक्ष रविन श्रेष्ठले त्यसको नेतृत्व गरेका थिए । केही जुत्ता उत्पादकहरु बजारमा बेच्नेभन्दा मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्थे ।


त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो । त्यसमा ३,४ वटा गुट बने । ती गुटहरु घरी एउटासँग अर्को, घरी अर्कोसँग तेस्रो उद्योग मिलेर मेलामा सहभागिता जनाउन थाले । यसरी सदाबहार मेला हुन थालेपछि मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय गर्यो ।


सबैले नलगाउने भए ठिकै छ भनेर मेलामा सहभागिता जनाउनेहरुले पनि मेला गर्न छाडे । विशेष गरी शिखर सुजले सानो चौरमा एकल मेला गर्दै आएको थियो । गत बर्ष शिखर सुजले मेला गर्ने भनेर सानो चौर बुक गरेको थियो । मेला विरोधीहरुले उक्त मेला रोक्नै लगाएका थिए । नेपाली जुत्ताघरमा शिखरसँग जोडिएका विएफ डियरहिल, कोसेलीलगायतका ब्राण्डका जुत्ता उत्पादकहरु आफूहरुलाई मेलामा छुटाएको भनेर शिखरको मेला विरुद्ध उत्रिए । विरोधको नेतृत्व तत्कालीन अध्यक्ष होमनाथ दाहाल, रविन श्रेष्ठ, ज्ञानेन्द्र दाहाललगायतले गरेका थिए ।


केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । अहिले भृकुटी मण्डपको दुवै चौरमा दशैं लक्षित जुत्ताचप्पल मेला चलिरहेका छन् । भृकुटीमण्डप प्रवेशद्वारमै अहिले शिखर सुजको नेतृत्वमा प्राइड स्वदेशी, हाइलाइफ, वन वल्र्ड, फुट स्टेप, बोस, बेम्बो, एसलगायतका ब्राण्डको प्रदर्शनी छ । सानो चौरको मेलालाई बिकृति भन्छन् ठूलो चौरमा मेला गर्नेहरु । ठूलो चौरमा मेला गर्र्नेहरु चाहिँ आफ्नो मेलालाई संस्कृति भन्छन् । ठूलो चौरमा रन, विएफ डियर हिल, फस्र्टवाकलगायतका कम्पनीका जुत्ताचप्पल प्रदर्शनीमा छन् ।

ठूलो चौरमा मेला लगाउनेहरुले कोभिडको असर सकिनासाथ सेल मेला गरे । संघको पूर्व अध्यक्षसमेत रहेका शिखर सुजका रामकृष्ण प्रसाईँलाई भाडामा लिएको सानो चौर चार दिनअघि नै छाड्न बाद्य बनाएर ठूलो चौरमा मेला गरे । त्यसपछि उनीहरुले बैशाखमा मेला गरे । त्यसपछि सानो चौरमा ६,७ वटा कम्पनीले डेढ महिनाजति मेला गरे ।


साउन १ महिना भृकुटीमण्डपको चौरले जुत्ता मेलाबाट बिश्राम पायो । उनीहरुले दशैं अघि एउटा समुहले भृटुटीमण्डपको सानो चौरमा मेला लगाउने घोषण गरेका थिए । त्यही अबसर पारेर संघका अध्यक्षलगायतका पदाधिकारीले ठूलो चौरमा भदौ १ गतेबाटै मेला सुरु गरे ।


भृकुटीमण्डको ठूलो चौर २० गतेपछि फर्निचर एक्स्पोलगायतले बुक गरेका थिए । त्यही बुकिंगमा पनि संघका पदाधिकारीले अनुनय विनय गरेर आफ्नो स्टलहरु राखे । समाज कल्याण परिषदले फर्निचर एक्स्पोका आयोजकलाई किन अरुलाई ठूलो चौरको स्पेस अरुलाई नाफा खाएर बेचेको भनेर पत्र काट्यो । त्यसपछि संघका पदाधिकारीहरुले आफ्नो स्टल छोपेर बसे । तैपनि उनीहरुले ठूलो चौर छाडेनन् ।

उनीहरु जसले स्पेस बुक गरे पनि आफ्नो लागि ठाउँ दिन अनुरोध गर्छन् र जुत्ताचप्पलको स्टल राखिहाल्छन् । अहिले त झन् ठूलो चौर पूरै ओगटेर संघ पक्षीय जुत्ता उत्पादकहरुले मेला गरिरहेका छन् । सानो चाँैरमा मेला लगाउनेहरु ठूलो चौरकै किनबेच भएको बताउँछन् ।


सानो चौरमा मेला लगाउँदा विकृति भएको भन्नेहरुले त्यसकै १० मिटर पर संघका अध्यक्षलगायतका पदाधिकारीहरु आफैंले मेला लगाउनुमा नैतिक दम नभएको सानो चौरमा मेला लगाउनेहरु बताउँछन् । कि दुवै मेला गलत हुन् भन्नु पर्यो, उनी भन्छन्, कि मेला गरेर उपभोक्तालाई फाइदा दिएका छौं भन्नु पर्यो ।


मेलामा प्रतिस्पर्धाले जुत्ताचप्पल उत्पादकहरु एक अर्कालाई खुइल्याउन थाले । उसले त चाइनामा बनाएर ल्याउँछ र मेलामा राखेर नेपाली उत्पादन भनेर बेचिरहेको छ भनेर एक अर्कालाई आरोप लगाउँन थाले । यसले गर्दा नेपाली ब्राण्डमा आएका जुत्ताचप्पलप्रति पनि सर्बसाधारणले शंका गर्न थाले । यसले नेपाली उद्योग नै संकटमा पर्न थाले । यस्तो प्रश्न आफूले धेरै पटक सामना गर्नु परेको एक जुत्ताचप्पल उत्पादक बताउँछन् ।


अहिले नेपालमा १८ करोडदेखि २० करोड जोर जुत्ताउत्पादन गर्न सक्ने पूर्वाधार रहेको जुत्ताचप्पल उत्पादकको दावी छ । नेपाली जुत्ताचप्पलले ६० प्रतिसत बजार धान्ने उत्पादकहरुको दावी छ । एक अनुमान अनुसार हरेक ब्यक्तिले नेपालीले हरेक बर्ष ४ जोर जुत्ताचप्पल लगाउँछन् । यस हिसावले हरेक बर्ष ११ करोड जोरजति नेपालीले जुत्ताचप्पल खपत गर्छन् । हरेक बर्ष औपचारिक अनौपचारिक माध्यमबाट दुईदेखि अढाइ करोड जोरसम्म जुत्ताचप्पल विदेश निर्यात हुन्छ । नेपाली जुत्ताचप्पल विदेशीको तुलनामा गुणस्तरीय रहेको उत्पादकको दावी छ । उत्पादकहरुले जुत्ताचप्पलमा ६ महिनाको वारेन्टी नै दिने गरेका छन् ।


राज्यले समेत जुत्ताचप्पल उद्योगीलाई संरक्षण गरेको छ । जुत्ताचप्पल उत्पादकहरु आफैं जुधेर उद्योग धरासायी बनाउँदैछन्, एक उत्पादक भन्छन्, राज्यले हाम्रो लागि दाहिना छ । गर्न नसकेको हामीले नै हो । धेरैको वर्किंङ क्यापिटल कोभिडले सकियो । बैंकहरुले लगानी गरेका छैनन् ।


जुत्ता मेलामा प्रतिस्पर्धा गर्न छालाजुत्ता उत्पादक सँघ स्वयं लाग्दा जुत्ताचप्पल उत्पादकको हितमा निति नियम बनाउन लबिङ गर्नु पर्ने काम संघले गर्न नसकेको उत्पादकहरु बताउँछन् । हामीले उद्योगको संरक्षण गर्ने अभिभावक नपाएको अनुभूति भएको छ, एक उत्पादकले भने । कुनै ब्यवसायीले मेलामा सहभागिता जनाउने, नजनाउने, उसको आवश्यकता, उसको सोचमा भर पर्ने कुरा भएको केही उत्पादकको भनाइ छ ।

यसमा जुत्ता उत्पादक सँघ आफैं लबिंग गरेर हिड्ने हैन । संघले प्रदर्शनी गर्ने हो, बायर, सेलरलाई बोलाउने हो । सेल मेला संघ आफैंले गर्ने होइन् । ती १० जना संघको नाममा सेल मेलामा किन बस्नु ? आफ्नै ब्राण्ड राखेर बसे भै गयो नि । कोभिड सकिएको एक बर्षमा ५ वटाभन्दा बढी मेला संघकै नाममा भइसकेका छन् । संघले विधानमै २ वटाभन्दा बढी सेल मेला नगर्ने भनेको छ ।
मेलामा प्रतिस्पर्धा हुँदा सर्वसाधारण उपभोक्ताले भने सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्