आयात प्रतिबन्ध र आर्थिक मन्दीबाट सुस्ताएको ‘नेपाली मोबाइल बजार’ लयमा फर्किएको हो ?

काठमाडौं । एक महिनामै २ अर्ब बढीको स्मार्टफोन नेपाल भित्रिएको छ । भन्सार विभागले हालै प्रकाशित गरेका चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार मङ्सिरमा २ अर्ब ६ करोड ८६ लाख रुपैयाँ बराबरको १ लाख ३१ हजार ६५५ वटा स्मार्टफोन नेपाल भित्रिएका हुन् ।
पछिल्लो तथ्याङ्क अनुसार मोबाइल (स्मार्टफोन) को आयात बढ्दो नै देखिन्छ । तर, व्यापार भने अपेक्षाकृत रूपमा नभएको व्यापारीहरू बताउँछन् । गत वर्ष सरकारले उच्च मूल्यका स्मार्टफोनमा लगाएको प्रतिबन्ध व्यापार सुस्त नै थियो । विदेशी मुद्राको सञ्चितिमा दबाब परेको भन्दै सरकारले गत वर्ष २०८९ वैशाखदेखि ३०० अमेरिकी डलरभन्दा माथिको स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो । तर, गत वर्षको मङ्सिरदेखि नै उच्च मूल्यका महँगा स्मार्टफोनको आयात हटाएको छ । जसले आयात बढी रहेको छ । गत वर्षको मङ्सिर महिनामा मात्रै २ अर्ब ६१ करोड बराबरको साढे ४ लाख बढी स्मार्टफोन आयात भएको थियो ।
गत आवको मङ्सिरसम्म भने ११ अर्ब २० करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ३ हजार ८१८ वटा स्मार्टफोन नेपाल भित्रिएका थिए । तर, चालु आवको सोही अवधिमा भने दोहोरो अङ्कले वृद्धि भएको छ । समीक्षा अवधिमा यस्ता फोन आयात १२.३३ प्रतिशतले बढेको हो । विभागका अनुसार चालु आवको पाँच महिनामा १३ अर्ब ५९ करोड ९५ लाख रुपैयाँ बराबरका ९ लाख २ हजार ९८१ थान स्मार्टफोन नेपाल भित्रिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याएको छ । नेपालमा अवैध मोबाइल कारोबार बढेको भन्दै प्राधिकरणले एमडिएमएस लागू गरेको हो । त्यसपछि नै मोबाइल आयात वैधानिक रूपमा नेपाल भित्रिएको हो । आयात बढे पनि नेपाली मोबाइल बजार सुस्त नै रहेको व्यवसायीहरू बताउँछन् । आयात प्रतिबन्ध र आर्थिक मन्दीबाट बल्ल व्यापार सकारात्मक रूपमा बढ्न थालेको उनीहरूको भनाई छ । ‘आयात प्रतिबन्ध र आर्थिक मन्दीबाट बल्ल नेपाली मोबाइल बजार बाहिर निस्किँदै छ । सुस्ताएको बजार झन्डै डेढ वर्षमा सकारात्मक गति लिन थालेको छ । यद्यपि, यो अपेक्षा गरेअनुसार चाहिँ होइन’,एक व्यवसायीले भने ।
नेपालमा विश्वका चार दर्जन बढी मुलुकहरूबाट स्मार्टफोन आयात हुने गरेको छ । त्यसमा सबैभन्दा धेरै चिनिया फोन आयात हुने गर्छन् । नेपाली मोबाइल बजारको करिब ८० प्रतिशतसम्म हिस्सा चिनियाँ स्मार्ट फोनको देखिन्छ । चालु आवको पाँच महिनामा चीनबाट मात्रै ९ अर्ब ४ करोड ८१ लाख बढीको ६ लाख ५७ हजार १८८ थान मोबाइल आयात भएको छ ।
यस्तै, दोस्रो स्थानमा रहेको भारतबाट पनि ३ अर्ब ९० करोड ७९ लाख रुपैयाँ बराबरको २ लाख ४३ हजार २९५ थान स्मार्टफोन नेपाल भित्रिएको विभागले जनाएको छ । यस्तै, जापानबाट २ करोड ५५ लाख बराबरको ३७३, युएईबाट २ करोड ४७ लाख ९७ हजार बराबरको २७५, अस्ट्रेलियाबाट १ करोड ७७ लाख बराबरको १७२ थान स्मार्टफोन नेपाल भित्रिएको छ । यी बाहेक क्यानडा, मलेसिया, फिनल्यान्ड, जर्मन, कोरिया, कुवेत, लगायतका करिब ५० देशबाट नेपालमा मोबाइल आयात हुने गरेको छ ।
पछिल्लो समय आर्थिक गतिविधि बढ्न थालेकाले मोबाइल व्यापार पनि बढ्ने आशामा व्यापारीहरू देखिन्छन् । अघिल्ला वर्षहरूमा जस्तो व्यापारमा सुधार नदेखिएता पनि आगामी दिनमा बढ्ने उनीहरूको अपेक्षा छ।