विदेशबाट फर्किएकी याङ्जेन: माछा पालनबाटै कमाउँदै रमाउँदै

रसुवा । वैदेशिक रोजगारीबाट कमाइ नभएर नेपाल फर्किएकी रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ ठूलोभार्खुकी याङ्जेन तामाङ कृषि पेसामै रमाउँदै आफ्नै घरगाउँमा मनग्य आम्दानी गरिरहेकी छिन् । उनले माछापालन व्यवसायबाट सफल कृषक बनेर वार्षिक पाँच लाख रुपैयाँ नाफा कमाइरहेकी छिन् ।
०६८ मा कृषि रेन्बो ट्राउट माछापालन उद्योग दर्ता गरेर दुई पोखरीबाट सुरु गरिएको फार्ममा अहिले ३० साना–ठूला माछा पोखरी रहेका छन् । पाँच लाख रुपैयाँ पुँजीबाट सुरु गरिएको फार्ममा अहिले १५ हजार भुरा माछा हुर्किरहेको तथा ६ हजार खानयोग्य छन् । उनलाई माछापालनमा श्रीमान् तेम्बाग्याल्सेनको सहयोग र साथ छ ।
१३ वर्षअघि ठूलोभार्खु डाँडामा रहेको बाँदर लड्ने पाँच रोपनी भिरालो जग्गामा अहिले करोडको हाराहारीमा रेस्टुरेन्टसहित माछापोखरी र अन्य पूर्वाधार बनेको छ । उनलाई मत्स्यपालनमा हिमाली आयोजना र तत्कालीन कृषि विकास कार्यालय रसुवाको आर्थिक, प्राविधिक सहयोग छ ।
गाउँ–समाजमा सानोतिनो रोगको उपचार, मृत्युपछि गरिने घेवालगायत संस्कार र चाडपर्व मनाउन तथा चार छोराछोरी पढाउन कसैले नपत्याएपछि उनी १५ वर्षअघि बिदेसिएकी थिइन् ।
त्यहाँ पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँ फर्किएर माछापालन व्यवसाय सुरु गरेकी याङ्जेनको अहिले राम्रो कमाइ देख्दा छरछिमेकीसमेत दङ्ग छन् ।
आयोजना र कृषि विकास कार्यालय सहयोगी बनिदिएपछि आफूमा माछा पाल्न हौसला बढेको र फस्टाउँदै गएपछि दुःखको दिन क्रमशः हट्दै गएको उनले बताइन् । ‘अहिले त्यो दिन सम्झँदा भक्कानो छुट्छ । हिम्मत भने हार्न नहुने रहेछ,’ उनले भनिन् । उनले खाजाघर सञ्चालन गरेर माछाको परिकार र विविध प्रकारका स्थानीय खाना, खाजासमेत बिक्री गरिरहेकी छिन् ।
कुनै बेला आफूसँग पैसा नभएर सापटी नदिनेहरू आजभोलि उनीसँग नै सहयोग माग्न आउँछन् । उनी अहिले स्थानीयका लागि प्रेरणाको व्यवसायी र सहयोगी बनेकी छिन् । अरूलाई पनि विदेश जानभन्दा यहीँ परिश्रम गरेर काम गर्न सुझाव दिने गर्छिन् ।
अहिले गाउँमा युवा खासै भेटिँदैनन् । कति युवा राम्रो पैसा कमाएर परिवारमा खुसी दिने सपना बुनेर बिदेसिएका छन् । अध्ययनको बहानामा धेरै पैसा कमाउनकै लागि ठूलो लगानी फसाएर बिदेसिएका छन् । यसका कारण गाउँघरमा युवा शक्तिको खडेरीजस्तै छ । गाउँमा युवा नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै बस्ने क्रम पनि बढ्दै गएको छ ।
रोजगारीका लागि विदेश जानुको अन्य विकल्प नदेखेर दिनहुँ धेरै युवा बिदेसिँदा याङ्जेन भने गाउँमै राम्रो आम्दानी गरिरहकी छिन् ।