तीजको मौसममा स्कुटरको बजार भयो बुलन्द, एक महिनामा दुई पांग्रेको ब्यापार यस्तो
काठमाडौँ । पछिल्लो एक महिनामा प्रमुख दुईपांग्रे सवारी ब्राण्डले ८ हजार ५० थान मोटरसाइकल र स्कुटर विक्री गरेका छन् । मुख्य चार ब्राण्डको मात्रै तथ्यांक हेर्दा यस्तो देखिएको हो ।
यससँगै दुईपांग्रे सेग्मेन्टमा मोटरसाइकलभन्दा स्कुटरको विक्रीले गति लिन थालेको छ । पछिल्लो समय शहरी क्षेत्रमा स्कुटरको माग बढ्दै गएका कारण यस्तो भएको हो । स्कुटरको डिकीमा सामान राख्न मिल्ने भएकाले नारी र पुरुष दुबैले स्कुटर बढी मन पराउन थालेका छन् ।
यसका अलवा देशका मुख्य सडक मार्गहरु पिच हुनु र महिलाहरु सवारी धनि बन्ने सिलसिला बढ्दै जानुले पनि स्कुटरको बजार विस्तारमा भूमिका खेलेको छ । वैदेशिक रोजगारीमा पुरुषहरुको बढ्दो आकर्षणले तिनका परिवारका महिलाका लागि स्कुटर खरीद गर्न र निजी सवारी राख्न मद्दत मिलेको छ ।
साथै ब्यापारिक प्रयोजनमा उपयोग गर्ने व्यक्तिहरुले पनि मोटरसाइकलको सट्टा स्कुटर मन पराउन थालेका छन् । पानीको जारदेखि ग्यासको सिलिण्डरसम्म बोकेर हिँड्न स्कुटरमा सजिलो पर्छ । वर्षातको समयमा हिलोबाट बच्न र वर्षादी लगायतका आफ्ना निजी सामान राख्नमात्रै होइन, अफिसियल कागजातहरु ढुवानी गर्न पनि स्कुटर उपयुक्त देखिन थालेको छ ।
गियर अप्सनबारे जान्नै नपर्ने हुनाले स्कुटर सिक्न र चलाउन सजिलो छ । साइकल चलाएको मान्छेले सजिलै स्कुटर चलाउन सक्छ । त्यस कारण तराई क्षेत्रमा पनि अहिले स्कुटरको उपयोग खुब बढ्न थालेको देखिन्छ । यस्ता थुप्रै कारणले दुई पांग्रे सवारीमा स्कुटरप्रतिको आकर्षण बढेको छ ।
यही कुरा प्रमुख दुई पांग्रे सवारी साधनको विक्रीको आँकडाले पनि पुष्टि गर्छ । पछिल्लो १ महिना अर्थात् २१ अगस्टदेखि २० सेप्टेम्बरसम्मको विक्रीको आँकडा हेर्दा होण्डाले सबैभन्दा धेरै दुईपांग्रे सवारी बेचेको छ । होण्डाको कुल विक्रीमा ज्यादै ठूलो हिस्सा स्कुटरको छ ।
त्यसपछि टीभीएस र यामाहाले पनि उच्च दरमा सवारी साधन बेचेका छन् । मोटरसाइकलमा नम्बर वान रहेको बजाज भने चौंथो स्थानमा छ । बजाजसँग त्यस्तो स्कुटर नहुँदा मोटरसाइकलमै प्रतिस्पर्धा गर्नु परिरहेको छ । यही कारण उसले अब विद्युतीय स्कुटरको नेपालमै एसेम्बल गर्ने प्रक्रिया अघि बढाएको छ ।