पेट्रोलको भाउ बढे पनि डेढ वर्षकै सस्तो स्तरमा, डिजेलले छुन सकेन अझै न्यून स्तर
काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको विक्री गर्ने एकाधिकार पाएको सरकारी संस्थान नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आज पुस १ देखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको हो भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।
निगमका अनुसार आइतबार मध्यरातिदेखि लागू हुने नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेर नयाँ दर लागू भएको छ।
त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य त्यही प्रतिलिटर दुई रुपैयाँका दरले घटाइएको छ । अब एक लिटर पेट्रोल किन्न ठाउँअनुसार १५९ रुपैयाँ ५० पैसादेखि १६२ रुपैयाँसम्म तिर्नुपर्ने छ । काठमाडौँ, पोखराजस्ता शहरमा भने १६२ रुपैयाँ नै तिर्नुपर्ने भएको छ । डिजेलको मूल्य भने १४८ रुपैयाँ ५० पैसादेखि १५१ रुपैयाँ प्रतिलिटरसम्म झरेको छ ।
तर यो कुनै कीर्तिमानी उचाई होइन । यसअघि २०७९ असार ५ गते रातीदेखि लागू भएको मूल्य सूची अनुसार काठमाडौँ लगायतका शहरमा पेट्रोलको भाउ १९९ रुपैयाँ लिटर पुगेको थियो । त्यसबेला डिजेलको भाउ १९२ रुपैयाँ लिटर पुगेको थियो । यो मूल्य असार ११ गतेसम्म कायम रह्यो । त्यस बेला एक हप्ताको अन्तरालमा पेट्रोलको भाउ प्रतिलिटर २० रुपैयाँ र प्रतिलिटर २९ रुपैयाँ घटेको थियो ।
पेट्रोलको भाउ २०७८ फागुनदेखि नै १५० रुपैयाँ वा त्योभन्दा माथि रहँदै आएको छ । त्यसयता पेट्रोल सबैभन्दा सस्तो हालतमा अहिले छ । डिजेल चाहीँ २०८० साउनमा झरेको १४६ रुपैयाँको स्तरमा पुग्न संघर्षरत देखिन्छ ।