नेपालको वित्तीय प्रणाली कस्तो छ ?
बिशाल श्रीपाइलि, बैङ्कर सांग्रिला डेभलपमेन्ट बैंक, कैलाली
अर्थतन्त्रलाई गतिशील बनाउन संकलित पूँजी निर्माणलाई आवश्यक परेको क्षेत्रहरूमा प्रवाह गर्नका निमित्त वित्तीय संस्था, वित्तीय उपकरण र वित्तीय मध्यस्थताको सामूहिक स्वरूप नै वित्तीय प्रणाली हो । अर्को शब्दमा भन्नु पर्दा वित्तीय साधनको परिचालन र उपयोग गर्ने कार्यमा संलग्न व्यक्ति, संस्था, सरोकारवाला पक्षहरूलाई सु-व्यवस्थित सञ्चालन र व्यवस्थापन गर्न आवश्यक नीति, नियम, परिधिहरू तयार गरि नियमनकारी निकायको समेत ब्यवस्था, प्रणाली वित्तीय प्रणाली हो । वित्तीय प्रणालीले अर्थतन्त्रमा छरिएर रहेका स-साना बचत एकाइहरू (Surplus sectror) लाई एकत्रित गरि आवश्यक सम्भावना बोकेको उत्पादनशील क्षेत्र (Deficit Sector) मा परिचालन गर्न एक अहम् साधनको रुपमा भूमिका खेलेको हुन्छ ।
नेपालको वित्तीय प्रणालीको चित्रण
नेपालको वित्तीय प्रणाली मुख्यतया ५ वटा क्षेत्रहरूको संरचनामा बनेको देखिन्छ, जुन मुद्रा बजार (बैङ्किङ), पूँजी बजार, बीमा क्षेत्र, सहकारी र गैर-बैकिङ्ग वित्तीय क्षेत्र रहेका छन् ।
१) मुद्रा बजार: मुद्रा बजारलाई नियन्त्रण र व्यवस्थापन केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले गर्दछ । यस क्षेत्रमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्थाहरू पर्ने गर्दछन् ।
२) पूँजी बजार: यस बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड रहेको छ। बोर्डले, नेप्से, धितोपत्र दलाल, सूचीकृत कम्पनी, क्रेडिट रेटिंग एजेन्सी, म्युचुअल फण्ड, मर्चेन्ट बैंक आदि, पूँजी बजारसँग सम्बन्धित क्षेत्रहरूलाई नियमन गर्ने गर्दछ ।
३) बीमा कम्पनी: बीमा समिति यस क्षेत्रको नियामक निकाय रहेको छ । यसले जीवन बीमा कम्पनी, निर्जीव बीमा कम्पनी र पुर्नबीमा कम्पनीहरुलाई सञ्चालन र व्यवस्थापन गर्न एक सुपरीवेक्षकका भूमिका निर्वाह गर्दछ ।
४) गैर-बैङ्किङ संस्थाहरू: विशुद्ध बैङ्किङ कारोबारमा संलग्न नरही तर वित्तीय कारोबारहरू गर्ने संस्था जस्तै: कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष यस क्षेत्रका उदाहरण हुन् । अर्थमन्त्रालयका नीति नियम बमोजिम कार्य सञ्चालन र मापदण्ड बमोजिम यस क्षेत्रका संस्थाहरूले कार्य गर्दछन् ।
५) बचत तथा ऋण सहकारी संस्थाहरूलाई सहकारी विभागले नियमन र अनुगमन गर्दछ र सहकारी विभागले तयार पारेका नीति नियम बमोजिम यस क्षेत्र संस्थाहरूले कार्य गर्नुपर्ने हुन्छ ।
अन्त्यमा,
वित्तीय प्रणाली कुनै पनि मुलुकको मेरुदण्डको रुपमा हुन्छ किनकि राष्ट्रमा उधोग व्यवसायको विकास, बिस्तार, आधुनिकीकरणका अतिरिक्त रोजगारीको अवसर सृजनागरि अर्थतन्त्रलाई मौद्रिकीकरण मार्फत चलायमान राख्न र अर्थतन्त्रको स्थायित्वसँगै दिगो विकास यसैबाट सम्भव हुने भएकोले वित्तीय प्रणालीको प्रबर्द्धन र सम्वर्द्धन गर्नमा सरकार, सरोकारवाला पक्षसँगै आमनागरिक सबैको कर्तव्य अनि जिम्मेवारी हो ।