रेमिट्यान्स वृद्धि: खुसी कि चिन्ता ?


काठमाडौँ । रेमिट्यान्सको आँकडा तोडियो, रेकर्ड बन्यो यो समाचारले खुसीको लहर त ल्यायो, तर त्यो खुसीमा एउटा गहिरो प्रश्न पनि लुकेको छ ः किन बढ्यो रेमिट्यान्स ?
के यो नेपालभित्रको रोजगारीको अवसर, उद्यमशीलता, शिक्षा र नेतृत्वप्रतिको विश्वासको प्रतिबिम्ब हो त ?
हो-पक्कै खुसीको कुरा भयो ।
तर यदि यो त्यसैले बढेको हो कि देशमै केही देखिएन, त्यसैले युवाहरू विदेश पलायन हुन बाध्य भए–भने त्यो चिन्ताको गहिरो सङ्केत पनि हो ।
रेमिट्यान्सले भुक्तानी सन्तुलन सुधार्यो, त्यो अवश्य अवसर हो ।
तर त्यसलाई हामीले रचनात्मक र उत्पादनशील दिशामा लगाउन नसक्नु भने दुर्भाग्य हो ।
घरजग्गा किनेर, ऋण तिरेर, वा उपभोगमै सीमित भएर होइन–यो पैसा नेपालीको भविष्य बनाउने माटोमा लगानी होस् ।
देशमा सम्भावना छ, स्रोत छ, श्रम र सीप छ–छैन त केवल दृष्टि र निर्णय गर्ने इच्छाशक्ति ।
राजनीतिक परिवेश, शिक्षा नीति, बैङ्किङ प्रणाली, विकास मोडेल–सबैलाई पुनर्विचार गर्नुपर्ने समय आएको छ ।
यो समय केवल खुसी हुने हैन, गहिरो सोच्ने बेला हो ।
– युवाहरू किन गइरहेछन् ?
– तिनीहरू फर्किन के चाहन्छन् ?
– हामीले देशमा कस्तो वातावरण बनाउन सकेका छौँ ?
देशमा बसेका, विदेश गएका, र नेतृत्वमा रहेका सबैले सकारात्मक भूमिका खेल्न सकुन् ।
रेमिट्यान्स देश चलाउने शक्ति हो, तर त्यो शक्ति देश बनाउने सपना बन्न नसकेको दुःखद यथार्थ पनि हो ।
अब आवश्यक छ–चेतना, जिम्मेवारी र दीर्घकालीन योजना। यही होस् अबको बाटो ।